वीरगंज, ४ जेठ — प्रकृति सेवा प्रतिष्ठान नेपालले श्री शारदा माध्यमिक विद्यालयको सहकार्यमा विश्व वातावरण दिवस २०८२ को अवसरमा आयोजित पाँचदिने कार्यक्रमको चौथो दिन बुधबार साइकल रैलीको आयोजना गरी वातावरणीय जनचेतना फैलाएको छ।
सो कार्यक्रममा प्रमुख अतिथि समाजसेवी प्रकाश उपाध्याय, प्रतिष्ठानका संस्थापक अध्यक्ष सरदार जसपाल सिंह, श्री शारदा विद्यालयका प्रधानाध्यापक अनिल वर्णवाल, प्रतिष्ठानका सहसचिव अबिनाश झा, सदस्य भोला प्रसाद, केदार गुप्ता तथा बहुअरीस्थित श्री शारदा विद्यालयका कक्षा ९ र १० का ४० जना विद्यार्थीहरू तथा नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, मुर्लीका कक्षा ९ र १० का २७ जना विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो।
साइकल रैली वीरगंज मुर्लीको नेपाल राष्ट्रिय माविबाट सुरु भई श्री शारदा माविमा अल्पविराम पश्चात् पुनः हरियो झण्डा देखाएर प्रमुख अतिथि उपाध्याय, अध्यक्ष सिंह र प्रधानाध्यापक वर्णवालले संयुक्त रूपमा उद्घाटन गरे। उक्त रैली हरपतगन्ज, सुगौली, अठराहा सुगौली, ड्राइपोर्ट हुँदै पुनः शारदा विद्यालयमै समापन भएको थियो।
कार्यक्रमको अवसरमा समाजसेवी उपाध्यायले मानिसको जन्मदेखि मृत्युसम्म वातावरणले प्रदान गर्ने निःशुल्क जीवनदायिनी साधन—हावा, पानी, अन्न, फलफूल, वनस्पति तथा जडीबुटीको संरक्षण गर्नुपर्ने दायित्वप्रति सबैलाई सचेत रहन आह्वान गरे। साथै, उनले विद्यार्थीहरूलाई उज्ज्वल भविष्यको शुभकामना दिंदै प्रतिष्ठान र विद्यालय परिवारलाई धन्यवाद ज्ञापन गरे।
प्रतिष्ठानका अध्यक्ष सिंहले “हरियो, सफा र स्वस्थ वीरगंज—प्लास्टिक झोला मुक्त र प्रदूषणमुक्त वीरगंज” भन्ने मुल नारालाई आत्मसात गर्दै प्रत्येक वर्षजस्तै यस वर्ष पनि वातावरण दिवसको पूर्वसन्ध्यामा सरसफाइ, वृक्षारोपण, जनचेतनामूलक कार्यक्रम र साइकल रैलीमार्फत जनजागरण अभियान सञ्चालन गरिएको जानकारी दिए।
उनले सहभागी सम्पूर्ण विद्यार्थी, शिक्षक, विद्यालय परिवार तथा प्रतिष्ठानका पदाधिकारीहरूलाई आभार प्रकट गर्दै वातावरणको संरक्षणमा सामूहिक जिम्मेवारीको अनुभूति गर्न आग्रह गरे।

























