वीरगंज, २३ जेठ – प्रकृति सेवा प्रतिष्ठान नेपालले वृक्षारोपण अभियानलाई निरन्तरता दिँदै वीरगंजको अलौस्थित सशस्त्र प्रहरी बल नेपाल, प्रस्तावित सीमा सुरक्षा गुल्मको प्राङ्गणमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ।
प्रतिष्ठानका सहसचिव अविनाश झाको नेतृत्वमा सशस्त्र प्रहरी नायब निरीक्षक कृष्ण पुजाराको विशेष सहभागिता रहेको थियो। उनले आँप, लिची, नीम, धुपी, जकरण्डा, गुलमोहर, अर्जुन लगायत विभिन्न प्रजातिका १५ वटा बिरुवा रोपिएको प्रतिष्ठानले जानकारी दिए।
सो अवसरमा सशस्त्र प्रहरी नायब निरीक्षक कृष्ण पुजाराले वातावरणको संरक्षण गर्नु सबैको साझा जिम्मेवारी भएको उल्लेख गर्दै प्रकृति सेवा प्रतिष्ठानले गरिरहेको कार्यको खुलेर प्रशंसा गरे। उनले सबैलाई हातेमालो गरी हरित वातावरणको संरक्षणमा जुट्न आह्वान गरे।
सहसचिव अविनाश झाले “हरियो, सफा र स्वस्थ वीरगंज”, “प्लास्टिक झोलामुक्त, प्रदूषणमुक्त वीरगंज”, “धरतीलाई बचाऔं, वातावरणलाई जोगाऔं” भन्ने मूलमन्त्रलाई आत्मसात गर्दै विश्व वातावरण दिवसको पूर्वसन्ध्यामा आयोजित कार्यक्रमहरूको जानकारी गराए।

उनका अनुसार असार १८ देखि २० गतेसम्म सरसफाइ कार्यक्रम, २१ गते साइकल र्याली, २२ गते विश्व वातावरण दिवसको मुख्य दिन बहुअरीस्थित श्री शारदा माविमा ७५ वटा रुख रोप्ने कार्य र २३ गते सशस्त्र प्रहरी गुल्म, अलौमा वृक्षारोपण गरी वातावरणप्रतिको आफ्नो जिम्मेवारीप्रति प्रतिबद्धता जनाइएको हो।
वातावरण दिवसको अवसरमा पाँच दिने पूर्वघोषित कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको जानकारी दिंदै झाले सहभागी सम्पूर्ण सशस्त्र प्रहरी तथा प्रतिष्ठानका पदाधिकारीप्रति आभार प्रकट गरे। साथै, वर्षभर विभिन्न स्थानमा वृक्षारोपण र जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै वातावरण संरक्षणमा अग्रसर रहने प्रतिबद्धता पनि व्यक्त गरे।
कार्यक्रममा वीरगञ्ज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह, युवा समाजसेवी केदार गुप्ता, गुल्मका सशस्त्र प्रहरीहरू तथा प्रतिष्ठानका अन्य सदस्यहरूको उपस्थिति रहेको थियो।

























