वीरगंज, २३ जेठ — मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रवार दिउँसो देशको कोशी प्रदेशसहित अधिकांश पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। बाँकी भू-भाग भने मुख्यतः सफा वा आंशिक बदली रहने जनाइएको छ।
कोशी प्रदेशका केही स्थानहरूमा, अन्य पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। साथै, देशका उच्च-पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का वर्षा वा हिमपातको सम्भावना पनि रहेको छ।
राति पनि कोशी प्रदेशसहित देशका पहाडी भू-भागहरूमा आंशिक बदलीको अवस्था रहनेछ। कोशीका थोरै स्थानहरूमा र बागमती तथा गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। यस्तै, ती प्रदेशका उच्च-पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्का वर्षा वा हिमपात हुनसक्ने महाशाखाले जनाएको छ ।
मौसमी प्रणालीको सन्दर्भमा हाल देशको पश्चिमी तथा मध्य भू-भागमा पश्चिमी वायु र स्थानीय वायुले प्रभाव जमाएको छ। अर्कोतर्फ, कोशी प्रदेशका अधिकांश भू-भागमा मनसुनी वायुले सक्रियता देखाएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

























