वीरगन्ज, २७ जेठ – मानवता र सहअस्तित्वको गहिरो सन्देश दिने इस्लाम धर्मको महान चाड ईद उल अजहा (बकरिद) को अवसरमा वीरगन्ज महानगरपालिका–१६ स्थित अंजुमन ईस्लामिया मुर्लीद्वारा मंगलबार एक सराहनीय सामाजिक कार्य सम्पन्न गरिएको छ। मुर्लीस्थित जामा मस्जिदको प्राङ्गणमा आयोजित रक्तदान कार्यक्रममा २१ जना उत्साही रक्तदाताहरुले आफ्नो अमूल्य रगत दान गरेर ‘ईदको खुशी अरुको जीवन बचाएर मनाउने’ उदाहरणीय सन्देश दिएका छन्।

रक्तदान कार्यक्रम अंजुमन ईस्लामिया मुर्लीका अध्यक्ष समाजसेवी हाजी सत्तार अन्सारीको अध्यक्षतामा सम्पन्न भयो। कार्यक्रममा विशेष अतिथि सलाउद्दिन अन्सारी, कबिर अन्सारी, मुरतुजा अन्सारी, हासिम मन्सुरीसहित स्थानीय अगुवा, समाजसेवी तथा युवाहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।

विज्ञापन

कार्यक्रममा असरफ अली अन्सारी, जावेद अन्सारी, रियाज अन्सारी, अकबर अन्सारी लगायतका रक्तदाताहरुले अनुकरणीय उदाहरण प्रस्तुत गर्दै जीवनदायिनी रगत दान गरे। रक्तदान गर्ने सबै सहभागीहरुले उत्साहपूर्वक सहभागिता जनाए, जसले धार्मिक चाडलाई सामाजिक सेवासँग जोड्ने परम्परा अझ सुदृढ बनाएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष हाजी सत्तार अन्सारीले भने,

“रक्तदान यस्तो पुण्य कार्य हो जसमा कुनै जात, धर्म, धनी–गरिब, उच–नीच भन्दैन। यसले केवल मानवताको मूल्य बुझाउँछ र जीवन बचाउँछ। यसैले यसलाई जिवनदान भनिन्छ। हामी सबैले यस्ता सामाजिक कार्यमा सक्रिय सहभागिता जनाउनुपर्छ।”

कार्यक्रमका कोषाध्यक्ष तथा युवा समाजसेवी असलम अन्सारीले रगतको बढ्दो अभावको सन्दर्भ उठाउँदै भने,

“वीरगन्ज र आसपासका क्षेत्रमा अहिले अत्यधिक गर्मीका कारण रक्तसञ्चयमा समस्या देखिएको छ। यस्तो समयमा हामीले अघि बढेर रक्तदान गर्नु मानवताको सर्वोत्तम उदाहरण हो।”

उनले सम्पूर्ण सहभागी रक्तदाताहरूप्रति आभार व्यक्त गर्दै भोलिका दिनमा पनि यस्ता सामाजिक अभियानलाई निरन्तरता दिने प्रतिवद्धता जनाए।

रक्तदान कार्यक्रम रक्तसञ्चार केन्द्र वीरगन्जका प्रमुख सौरभराज पाण्डेयको नेतृत्वमा सञ्चालित प्राविधिक स्वयंसेवक टोलीद्वारा व्यवस्थापन गरिएको थियो। टोलीले सम्पूर्ण रक्तदाताहरुलाई सुरक्षित, सफा र व्यवस्थित तरिकाले रक्तदान गराउन सहयोग गर्‍यो।

यो कार्यक्रमले धार्मिक चाडलाई केवल उत्सवको रूपमा नभई समाज र मानवताको सेवामा समर्पित बनाउने कार्यलाई सशक्त बनाएको छ। अंजुमन ईस्लामिया मुर्लीको यो प्रयासले समाजमा सकारात्मक उदाहरण स्थापित गरेको छ, जसबाट अरु संघ–संस्थाले पनि प्रेरणा लिन सक्छन्।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here