डन्डी, स्कटल्यान्ड — एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका नन्दन यादवको उत्कृष्ट प्रदर्शनको मद्दतमा नेपालले विश्वकप क्रिकेट लिग–२ अन्तर्गत मंगलबार नेदरल्यान्ड्सलाई १६ रनले पराजित गरेको छ। दाहिने हातका तीव्र गतिका बलर नन्दन र स्पिनर सन्दीप लामिछानेले समान ३–३ विकेट लिएपछि नेपालले डन्डीको फोर्टहिल मैदानमा ऐतिहासिक जित निकालेको हो।
नेपालले पहिलो ब्याटिङ गर्दै ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ३६ रन बनाएको थियो। तर ब्याट्सम्यान आरिफ शेख दुईपटक ‘डेन्जर जोन’मा दौडिएपछि नेपालमाथि १० रनको पेनाल्टी लाग्यो। त्यसअनुसार नेदरल्यान्ड्सको इनिङ सुरु हुनासाथ स्कोरबोर्डमा १० रन जोडिएको थियो। तर, २ सय ३७ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्स ४९.२ ओभरमा २ सय २० रनमै अलआउट भयो।
नेपालका लागि नन्दन यादवले आफ्नो पहिलो अन्तर्राष्ट्रिय खेलमै म्याक्स ओ’डडलाई ४ रनमा आउट गर्दै पावरप्लेमै राम्रो सुरुवात दिलाए। त्यसपछि सन्दीपले मध्यक्रममा ज्याक क्याचेट र तेजा निडामानुरुलाई आउट गर्दै खेलमा नेपाललाई फर्काए। ललित राजवंशीले डच टोलीका कप्तान स्कट इडवार्डस (३०) र भेट्रान वेस्ली बारेसी (३६) लाई आउट गर्दै विपक्षीको व्याटिङ लाइनलाई धराशायी बनाएका थिए।
नेपालको बलिङ अन्त्यतिर झनै प्रभावशाली देखिएको थियो। नन्दनले एकै ओभरमा दुई महत्वपूर्ण विकेट लिएर खेलको परिणाम नेपालतर्फ पारिदिए। अन्तिम ओभरमा करण केसीले पाउल भान मिकेरेनलाई आउट गर्दै नेपाललाई १६ रनको सानदार जित दिलाए।
नेपालका लागि नन्दनले ९ ओभरमा १ मेडन राख्दै ३९ रनमा ३ विकेट लिए भने सन्दीपले १० ओभरमा ३९ रन खर्चेर ३ विकेट लिएका थिए। ललितले १० ओभरमा १ मेडन राख्दै २९ रनमा २ विकेट लिए। करण र कुशल भूर्तेलले १–१ विकेट लिए।
नेपालको ब्याटिङतर्फ आरिफ शेख पुनः चम्किए। उनले ८४ बलमा ७ चौका र २ छक्का प्रहार गर्दै ८२ रन बनाए, जुन उनको अन्तर्राष्ट्रिय करियरको सर्वाधिक व्यक्तिगत स्कोर हो। यसअघि नेदरल्यान्ड्सविरुद्धकै पहिलो खेलमा उनले ७८ रन बनाएका थिए। प्लेयर अफ द म्याच घोषित भएका आरिफले नेपाललाई सशक्त स्कोरमा पुर्याउन महत्वपूर्ण योगदान दिए।
नेपालको सुरुवात खासै राम्रो भएन। ओपनर कुशल भूर्तेल १८ रनमै आउट भए भने अनिल साहले २ रन मात्र बनाउन सके। तेस्रो विकेटका लागि भीम सार्की र कप्तान रोहित पौडेलबीच ५९ रनको साझेदारी भएको थियो। तर, डच बलर माइकल लेभिटले बीचको ओभरमा नेपालमाथि दबाब सिर्जना गरे। उनले रोहित, भीम र दीपेन्द्र सिंह ऐरीलाई आउट गर्दै नेपाललाई कठिन अवस्थामा ल्याएका थिए।
लेभिटले १० ओभरमा ४९ रन खर्चेर ३ विकेट लिए भने मिकेरेनले १० ओभरमा ५८ रन खर्चेर ४ विकेट लिए। नेपालले अन्तिम ओभरहरूमा केही साना साझेदारिका साथ २ सय ३६ रनको सम्मानजनक योगफल तयार गरेको थियो।
यो जितसँगै नेपालले स्कटल्यान्ड भ्रमणमा खेलेका ४ खेलमध्ये ३ मा जित हात पारेको छ। सन् २०२३ मा युएई भ्रमणको क्रममा पनि नेपालले ४ मध्ये ३ खेल जितेको थियो, जसले विदेशी भूमिमा समान सफलता दोहोर्याएको संकेत गर्छ।
१६ खेलमा १२ अंक जोडेको नेपाल लिग–२ को तालिकामा सातौँ स्थानमा पुगेको छ। भने, लगातार चौथो हार व्यहोरेको नेदरल्यान्ड्स २३ खेलमा २६ अंक जोडेर दोस्रो स्थानमा छ। आठ राष्ट्र सम्मिलित यस प्रतियोगितामा शीर्ष चार टोलीले आगामी एकदिवसीय विश्वकप छनोट खेल्नेछन्।
चोटका कारण नियमित खेलाडी सोमपाल कामी र गुलशन झा अनुपस्थित रहेका यस खेलमा उनीहरूको स्थानमा नन्दन यादव र बसिर अहमदलाई समावेश गरिएको थियो। सोमपालको कुहिनोमा र गुलशनको घुँडामा चोट लागेका कारण उनीहरू आगामी ग्लास्गोमा हुने त्रिकोणात्मक ट्वान्टी/२० सिरिजमा पनि सहभागी नहुने पक्का भएको छ।
नेपालको यो जितले लिग–२ मा पुनः आत्मविश्वास भरिदिएको छ र आगामी सिरिजमा अझ बलियो प्रदर्शनको आशा जगाएको छ।