जनकपुर उपमहनागरपलिकाको कार्यालय

अभितक, जनकपुरधाम, ​२९ जेठ — ऐतिहासिक, धार्मिक र सांस्कृतिक सम्पदाले भरिपूर्ण जनकपुरधाम शहरलाई स्वच्छ र सुन्दर बनाउने उद्देश्यले जनकपुर उपमहानगरपालिकाले हरेक वर्षजसो दशैँ, तिहार, छठ र विवाहपञ्चमीका अवसरमा सञ्चालन गर्दै आएको सरसफाइ कार्यक्रम झुटको महल सावित हुन थालेको छ। महालेखा परीक्षकको २०७९/८० को प्रतिवेदनले ​त्यस वर्ष विशेष सरसफाई कार्यक्रमको आवरणमा १ करोड ५ लाख रुपैयाँ बराबरको खर्चमा गम्भीर अनियमितता भएको पुष्टि गरेको छ।

प्रमाणबिना खर्च, आफ्नै साधन हुँदाहुँदै भाडाका सवारी

महालेखा कार्यालयको प्रतिवेदन अनुसार, उपमहानगरले डोजर, जेसिबी, ​ट्याक्टर लगायतका उपकरण भाडामा लिएको भन्दै ठूलो रकम खर्च देखाए पनि ​लेखा परीक्षणका लागि त्यसको आवश्यक बिल, भरपाई वा अन्य आधिकारिक कागजातहरू प्रस्तुत गर्न सकेको छैन। जेसिबी मात्रको शीर्षकमा एघारजना व्यवसायीलाई रु १० लाख ४ हजार ८ सय ६३ रुपैयाँ ​भाडा वापत भुक्तानी गरेको खर्च देखाइएको छ, तर त्यससम्बन्धी विवरण अस्पष्ट र अपूरो छ। महालेखाले दामकाम गर्ने कर्मचारीलाई समेत जिम्मेवार बनाई उक्त रकम असुल उपर गर्नु पर्ने भनेको छ।

विज्ञापन

उल्लेखनीय कुरा के छ भने, उपमहानगरसँग आफ्नै स्रोतमा २ वटा जेसिबी, २६ वटा ​ट्याक्टर, ८ वटा ट्रक र १०३ जना सरसफाइ कर्मचारी (कुचिकार) उपलब्ध छन्। तर, त्यस्ता स्रोतहरू प्रयोग गर्नुभन्दा पनि अतिरिक्त निजी साधन र श्रमिक​, डोर हाजिरीमा राखी काम गराइएको छ, जुन पारदर्शिता अभाव र स्रोतको दुरुपयोगको स्पष्ट संकेत हो।

आर्थिक अनुशासनको गम्भीर उल्लंघन

महालेखाले खर्च पुष्टि गर्न नसकिएको ​जेसिबिको भाडा रकम असुल गर्नुपर्ने सुझाव दिएको छ। साथै, आवश्यकताको स्पष्ट मूल्याङ्कन नगरी कार्यक्रम सञ्चालन गरिनु, कार्यक्षेत्र नतोकिनु, तथा खर्चका आधार कागजात पेश नगरिनु — यी सबैले जनकपुर उपमहानगरमा गम्भीर आर्थिक अनुशासनहीनता भएको संकेत गर्छ।

अभितक मिडियाको स्थलगत रिपोर्टिंग

जानकी मन्दिर परिसरमा देखिएको फोहोरजन्य अवस्था। तस्विर : अभितक

अभितक मिडियाद्वारा पूर्वप्रकाशित दुईवटा स्थलगत रिपोर्टिङहरूले पनि उपमहानगरको सरसफाइ अभियानको वास्तविकता उजागर गरिसकेका छन्। ​गत वर्ष​ चैत ​महिनामा जानकी मन्दिर क्षेत्रको स्थलगत अवलोकनमा नेपाली र विदेशी पर्यटकहरूले शहरको सरसफाइ​को अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरेका थिए। हालै प्रकाशित अर्को रिपोर्टमा जनकपुरको फोहर व्यवस्थापन प्रणालीमै लापरबाही देखिएको ​जनगुनासा ​प्रसारण गरिएको थियो । स्थानीय मानिसहरुले यस्तो प्रवृतिलाई कागजमा सरसफाइ र व्यवहारमा दुर्गन्ध भन्दै टिप्पणी गरेका छन्।

राजधानी शहरको लाजमर्दो यथार्थ

जनकपुर न केवल ऐतिहासिक ​र धार्मिक शहर हो, ​हाल यो मधेश प्रदेशको राजधानी ​पनि हो। तर, जानकी मन्दिर, विवाह मण्डप, रामानन्द चोक, रेल्वे स्टेशन आसपास, बस पार्क, हाटबजारजस्ता स्थानहरूमा दैनिक सरसफाइको अवस्था देख्दा लाज लाग्ने परिस्थिति छ। यस्तो शहरमा विशेष सरसफाइको नाममा करोडौं खर्च भए पनि न त फोहरको व्यवस्थापन सुधारिएको छ, न त वातावरणीय स्वच्छता देखिन्छ।

गौरवगाथा वर्णन, दायित्वको विस्मरण

स्वच्छ जनकपुर अभियान। तस्वीर श्रोत : जनकपुर उपमहानगरपालिकाको वेबसाइट

जनकपुर उपमहानगरपालिकाले आफ्नो वेबसाइटमा जनकपुरलाई मिथिला सभ्यताको गौरवशाली केन्द्र भन्दै वर्णन गरेको छ। जानकी मन्दिरको धार्मिक महत्त्व, नौलखा मन्दिरको ऐतिहासिक पृष्ठभूमि, मिथिलाञ्चलका परम्परागत पर्वहरूको सूची समावेश गरिँदै जनकपुरलाई ‘विश्व सम्पदा सूची’मा राख्ने प्रयास भइरहेको उल्लेख ​गरेको छ।

तर यथार्थमा, उपमहानगरका जनप्रतिनिधिहरुले त्यस गौरवलाई संजीवनी प्रदान गर्नु पर्ने आफ्नो दायित्व बिर्सेका मात्र छैनन्, बरु व्यवहारमा उतार्न असफल भएका छन्। लाखौं श्रद्धालु भक्तजनले दर्शन गर्ने मन्दिर क्षेत्रमै सरसफाइको अभाव देखिनु, कार्यक्रमको नाममा पैसा खर्च भए पनि कामको प्रभाव नदेखिनु — गम्भीर प्रश्न उठाउँछ।

जनप्रतिनिधिहरूको जवाफदेहिता खै?

उपमहानगरका जनप्रतिनिधिहरू जनताको गुनासो सुन्नेतर्फ गम्भीर देखिँदैनन्। विगतदेखि दोहोरिइरहेका सरसफाइसम्बन्धी गुनासाहरूको सम्बोधन नगर्नु र वित्तीय पारदर्शिता कायम राख्न असफल हुनु जनप्रतिनिधिहरूप्रति नागरिकको विश्वास खस्किनुको प्रमुख कारण बन्न सक्छ।

पवित्र नगरीको सुशासनमा कलंक

जनकपुरधामजस्तो ऐतिहासिक, सांस्कृतिक, धार्मिक र राजनीतिक दृष्टिले महत्वपूर्ण शहरमा ‘विशेष सरसफाइ’को नाममा करोडौं खर्च गरिए पनि त्यसको प्रभाव नदेखिनु गम्भीर लापरबाही हो। यो ​केवल आर्थिक अनियमितता होइन, सांस्कृतिक दायित्वको तिरस्कार पनि हो।

सरसफाइका कार्यक्रमहरू व्यवहारमा नउतरिँदासम्म जनकपुर सुशासनको नाममा मात्र राजधानी हुनेछ, गरिमा भने गुमाउँदै जानेछ।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here