भारी वर्षा सम्भावना

वीरगंज, २९ जेठ – आज दिउँसोदेखि रातिसम्म देशभर आंशिकदेखि साधारण बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशको अधिकांश पहाडी भू-भागमा तथा बाँकी स्थानहरूमा समेत मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। यसका साथै, देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्का वर्षा वा हिमपात पनि हुन सक्नेछ।

विज्ञापन

यसैगरी, आज राति मौसममा उल्लेख्य परिवर्तन देखिने महाशाखाले जनाएको छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागहरूमा आंशिकदेखि साधारण बदली रहनेछ भने बाँकी क्षेत्रमा मुख्यतया सफा रहने अपेक्षा गरिएको छ।

तर, रातिको समयमा पनि यिनै प्रदेशहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा र कोशी, बागमती तथा गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना कायमै छ। साथै, यी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागहरूमा हल्का वर्षा वा हिमपात हुन सक्ने संकेत गरिएको छ।

हाल देशको पश्चिम र मध्य भू-भागमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश क्षेत्रमा मनसुनी वायु सक्रिय रहेको मौसम महाशाखाले जनाएको छ।

मौसम विभागले सम्भावित वर्षा, चट्याङ तथा भारी वर्षाका कारण पहिरो, सडक अबरुद्ध, नदीमा पानीको बहाव बढ्न सक्ने भन्दै सतर्क रहन सर्वसाधारण तथा सम्बन्धित निकायहरूलाई आग्रह गरेको छ। विशेषगरी, पहाडी र हिमाली भेगमा यात्रा गर्दा मौसम जानकारी लिएर मात्र यात्रा गर्न महाशाखाले सुझाव दिएको छ।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here