वीरगंज, ०३ असार — वीरगंज तथा आसपासका क्षेत्रमा रगतको गम्भीर अभाव देखिएपछि नेपाल रेडक्रस सोसाइटी अन्तर्गतको रक्तसञ्चार केन्द्र, वीरगंजले आम नागरिकलाई रक्तदानका लागि अपिल गरेको छ।

रक्तसञ्चार केन्द्रका प्रमुख सौरभराज पाण्डेका अनुसार हाल ए पोजेटिभ, बी पोजेटिभ, ओ पोजेटिभ लगायत सबै रक्तसमूहको मौज्दात शून्य नजिक छ। दिनहुँ १०० देखि १५० युनिटसम्मको माग हुने गरेकामा मागअनुसारको आपूर्ति हुन नसकेको र रगत आवश्यक पर्ने व्यक्तिले आफैं रक्तदाता लिएर आएपछि मात्र सेवा पाउने अवस्था रहेको उनले बताए।

विज्ञापन

उनका अनुसार, सामान्यतया मासिक रूपमा १,५०० देखि १,८०० युनिटसम्म रगत वितरण हुने गरेकामा जेठ महिनामा मात्रै १,७४६ युनिट वितरण गरिएको थियो। तर अहिले केन्द्रमा रगत अभावका कारण सेवाग्राहीहरू दिनहुँ रित्तै फर्कनुपरेको छ।

रगत अभावको खबर फैलिएपछि वीरगंज–३ का वडाध्यक्ष बैजु स्वर्णकारले केन्द्रमा आएर रक्तदाताहरूका लागि चिसो व्यवस्था गर्न १.५ टनको एयर कन्डिशनर (एसी) र स्टेबलाइजर सहयोगस्वरूप हस्तान्तरण गरे। सो अवसरमा वडा सदस्य संगीता दास र चलचित्र कलाकार सङ्घ पर्साका अध्यक्ष तथा पत्रकार सूर्य विकले आकस्मिक रूपमा रक्तदान गरेर उदाहरणीय कदम चाले।

सहयोग हस्तान्तरण र रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पर्साका सभापति बृजकिशोर पटेल, सदस्य दिनानाथ रौनियार, वडा सदस्य बरकतुन नेशा, प्राविधिक जितेन्द्र कुशवाहा लगायतको उपस्थिति थियो।

सभापति पटेलले रगतलाई ‘जीवनदान’ भनी चिनाउने परम्परा स्मरण गर्दै वीरगंजका रक्तदाताहरूले यति बेला मानवता जोगाउने महत्वपूर्ण कार्य गरिरहेको बताए। “आगामी दिनमा पनि संस्थागत तथा व्यक्तिगत पहलबाट रक्तदान कार्यक्रमहरू सञ्चालन हुनेमा हामी विश्वस्त छौं,” उनले भने।

रक्तदानको सक्रियता अत्यधिक गर्मीका कारण पनि घटेको बताउँदै केन्द्रका सहायक राजन श्रीवास्तवले सामाजिक सङ्घ–संस्थाहरू तथा आम सर्वसाधारणलाई विशेष अपिल गर्दै तत्काल रक्तदानमा सहभागी हुन आग्रह गरे।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here