वीरगंज, ०३ असार – वीरगन्ज महानगरपालिका वडा नं. ३ का वडाध्यक्ष बैजु स्वर्णकारले नेपाल रेडक्रस सोसाइटी पर्साद्वारा सञ्चालित रक्तसञ्चार केन्द्र वीरगंजलाई एक थान १.५ टन क्षमताको एसी र स्टेबिलाइजर सहयोग हस्तान्तरण गरेका छन्।

विश्व रक्तदाता दिवसको अवसरमा रक्तदान गर्न आउने रक्तदाताहरूलाई सहज र शीतल वातावरण प्रदान गर्ने उद्देश्यले वडाध्यक्ष स्वर्णकारले उक्त सहयोग प्रदान गरेका हुन्। शनिबार आयोजित कार्यक्रममा वडाध्यक्ष स्वर्णकारले आफ्नै प्रतिबद्धता अनुसार नेपाल रेडक्रस पर्साका अध्यक्ष बृजकिशोर पटेललाई औपचारिक रुपमा सहयोग हस्तान्तरण गरे।

विज्ञापन

कार्यक्रममा वडासमितिका सदस्यहरू खैरुदिन हवारी, बरकतुन नेशा, संगीता दास, रेडक्रस पर्साका मन्त्री विनोद गिरी, कोषाध्यक्ष दयाशंकर सिंह, सदस्यहरू मुना कुमारी खनाल, दिनानाथ रौनियार, बाबुनन्द चौरसिया, रक्तसञ्चार केन्द्रका प्रमुख सौरभराज पाण्डे लगायत कर्मचारीको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै वडाध्यक्ष स्वर्णकारले भने, “रक्तदाताहरू समाजका असल हिरो हुन्। उहाँहरूको सेवा र सम्मान सधैं गरिनु पर्दछ। यो सानो सहयोग मार्फत रक्तदाताहरूलाई गर्मीमा केही राहत मिलोस् भन्ने चाहना हो, जसले मलाई अत्यन्तै खुशी दिएको छ। आगामी दिनमा पनि रेडक्रस र रक्तदातासँग निरन्तर सहकार्य रहनेछ।”

रेडक्रस पर्साका अध्यक्ष पटेलले स्वर्णकार र वडासमितिप्रति आभार प्रकट गर्दै भने, “रक्तदाताप्रति देखाइएको यो सम्मान हाम्रो मानवीय सेवाको अभियानलाई थप ऊर्जा मिल्ने गरी आएको छ। रेडक्रसको मूल ध्येय ‘रगत अभावमा कुनै पनि ज्यान नजाओस्’ भन्ने अभियानमा यस्ता सहयोगले हौसला मिल्छ। सबैलाई रक्तदानको सम्मान र प्रवर्द्धनका लागि हातेमालो गर्न आग्रह गर्छु।”

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here