काठमाडौँ, ०४ असार – बिहीबार अहमदाबादबाट उडेको एक विमान उडेको दुई मिनेटमै होस्टलको भवनमा ठोक्किएर दुर्घटनाग्रस्त भएपछि विश्वभर विमान सुरक्षा र प्राविधिक जाँचप्रति गम्भीर चासो बढेको छ। उक्त दुर्घटनापछि भारतको नागरिक उड्डयन महानिर्देशनालय (DGCA) ले एयर इन्डियाको बोइङ ७८७ फ्लिटको व्यापक सुरक्षा जाँचको आदेश दिएको थियो।
त्यसयता, विभिन्न अन्तर्राष्ट्रिय वायु सेवा कम्पनीहरूले प्राविधिक समस्या र सुरक्षाको कारण देखाउँदै उडानहरू स्थगित वा रद्द गर्न थालेका छन्, जसका कारण विश्वव्यापी हवाई यात्रा प्रभावित हुन थालेको छ। एयर इन्डियाले मंगलबार मात्र आफ्नो बोइङ ७८७ जहाजको प्राविधिक जाँचपछि आधा दर्जन अन्तर्राष्ट्रिय उडानहरू रद्द गरेको जनाएको छ।
अन्य विमान सेवा कम्पनीहरू पनि समस्याबाट अछुतो रहेका छैनन्। गत आइतबार लन्डन–चेन्नई उडानमा रहेको ब्रिटिस एयरवेजको बोइङ ७८७ ड्रिमलाइनर प्राविधिक समस्याका कारण बीचमै हिथ्रो एयरपोर्ट फर्किएको थियो। ब्रिटिस एयरवेजका अनुसार जहाजमा प्राविधिक गडबडीको रिपोर्ट आएपछि सुरक्षा सतर्कता स्वरूप फर्काइएको हो।
यस्तै, सोमबार हङकङबाट दिल्ली उडेको एयर इन्डियाको बोइङ ७८७–८ ड्रिमलाइनर जहाज पनि प्राविधिक समस्या देखिएपछि हङकङ नै फर्किएको थियो। उडानको क्रममा चालक दलले समस्या पहिचान गरेपछि जहाज तत्काल फर्काइएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
सोही दिन, जर्मनीको फ्राङ्कफर्टबाट हैदराबादका लागि उडेको अर्को जहाजमा बम भएको आशंकापछि आपतकालीन अवतरण गरी पुनः फ्राङ्कफर्ट नै फर्काइएको थियो।
विस्तारमा देखिएको यी समस्या र सतर्कताले बोइङ ७८७ ड्रिमलाइनर जस्ता विमानहरूको विश्वसनीयतामाथि गम्भीर प्रश्न उठाएको छ। प्राविधिक निरीक्षणसँगै भविष्यमा उडानको सुरक्षामा थप सतर्कता अपनाउनु पर्ने आवश्यकतामा विज्ञहरू जोड दिइरहेका छन्।

























