वीरगंज, ०७ असार — मधेस प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले देशमा जनता स्वयं इमानदार नभएसम्म नेताबाट पनि इमानदारीको अपेक्षा गर्न नसकिने बताएका छन्।

शनिबार पर्साको पोखरिया नगरपालिकामा प्रदेश सरकारले आयोजना गरेको ‘सभामुख जनतासँग’ कार्यक्रममा बोल्दै सभामुख मण्डलले नेताहरू इमानदार हुन जनताले पनि इमानदार बन्नुपर्ने धारणा राखे। “जनता र नेताबीच नङ र मासु जस्तो सम्बन्ध हुनुपर्छ,” उनले भने, “दुवै इमानदार भए मात्र समृद्ध देशको निर्माण सम्भव हुन्छ।”

विज्ञापन

सभामुख मण्डलले चुनावको बेला मासु, रक्सी र पैसाको भरमा व्यापारी, ठेकेदारलाई जिताउने प्रवृत्तिले जनप्रतिनिधिहरूलाई जनसेवक बनाउँदैन भन्ने टिप्पणी गरे।

कृषि, स्वास्थ्य, शिक्षा र रोजगारीका क्षेत्रमा परिवारवाद हाबी भएको स्वीकार गर्दै मण्डलले भने, “जनता स्वयं सचेत भएमा परिवारवाद जस्ता विकृति हटाउन सकिन्छ।” उनले प्रदेश सरकारले कृषि, स्वास्थ्य र शिक्षालाई प्राथमिकता दिँदै आएको भनिए पनि ती क्षेत्रमा बजेट पर्याप्त नभएको आरोप लगाए।

“मधेसका ७० प्रतिशत जनता कृषिमा निर्भर छन्, तर बजेटको न्यून विनियोजनले कृषि विकासमा बाधा पुर्‍याएको छ,” उनले भने, “मल, बीउ र औषधिको अभाव अपुग बजेटकै परिणाम हो।”

कार्यक्रममा पोखरिया नगरपालिकाका आम जनताले पनि विभिन्न समस्याका विषयमा आफ्ना धारणा स्पष्ट रुपमा राखेका थिए। उनीहरूले शिक्षा, स्वास्थ्य, कृषि, सडक, खानेपानी, बेरोजगारी, परिवारवाद, भ्रष्टाचारजस्ता मुद्दामा राज्य संयन्त्रप्रति असन्तुष्टि जनाउँदै सुधारको माग गरेका थिए। कतिपयले विद्यालयमा शिक्षकको अभाव, स्वास्थ्य चौकीमा औषधि र डाक्टरको कमीकमजोरी, खेतीपातीमा सहुलियत नपाएको र बेरोजगार युवाहरू विदेश पलायन भैरहेको गुनासो व्यक्त गरेका थिए।

कार्यक्रममा कृषि तथा सहकारी मन्त्री जनार्दनसिंह क्षत्रीले गणतन्त्रले विकासको गतिमा तीव्रता ल्याएको दाबी गरे। उनले विद्यालय, सडक, स्वास्थ्य र सञ्चारजस्ता पूर्वाधार गाउँगाउँमा पुगेको उल्लेख गर्दै भने, “राजतन्त्रमा जनताले आवाज उठाउन सक्दैनथे, तर अब पाँच वर्षमा जनताले आफूले नचाहेको नेतालाई हटाउन सक्छन्।”

नगरप्रमुख प्रद्युम्न चौहानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेशसभा सदस्यहरू श्याम पटेल, रहबर अन्सारी, बिना शर्मा, पूर्व नगरप्रमुख दीपनारायण रौनियार, वडाध्यक्ष लक्ष्मण साह कानू, उपप्रमुख रूबी ठाकुर, जगरनाथपुर गापाध्यक्ष श्रीकान्त यादव, प्रमुख प्रशासकीय अधिकृत रामविनय सिंह, एमाले पोखरिया नगर अध्यक्ष विन्ध्याचल ठाकुर लगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको सहजीकरण भगवान कुर्मीले गरेका थिए।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here