वीरगंज, ९ असार – प्रदेश अस्पताल, सुर्खेतमा करिब २६ लाख रुपैयाँ हिनामिनामा संलग्न भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, काठमाडौँले सोमवार तीनजनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार सामाजिक सेवा एकाइ कार्यक्रमअन्तर्गत कम्प्युटर अपरेटर पदमा करारमा कार्यरत तृप्ती शाहीले स्वास्थ्य बीमा शाखाको नामदर्ता काउन्टरमा खटिइ काम गर्दै आएकी उनी अनाधिकृत रूपमा बिलिङ काउन्टरमा प्रवेश गरी बिलिङ गर्दै आएको र सोबाट संकलित रकम बैंकमा दाखिला नगरी हिनामिना गरेको उजुरीपछि अनुसन्धान अघि बढाइएको थियो।

विज्ञापन

पौडेलका अनुसार अनुसन्धानका क्रममा लेखा अधिकृत (अधिकृतस्तर छैटौं) शंकरप्रसाद सुवेदी, तृप्ती शाही र कुमारी बैंकको एक्सटेन्सन काउन्टरका तत्कालीन प्रमुख गोमा सिजाली मगरको मिलेमतोमा अनियमितता भएको पुष्टि भएको हो।

२०८० साउन १ देखि २०८१ साउन मसान्तसम्मको अवधिमा संकलन भएको कुल रु ३४,०३,८५६।५० मध्ये रु ८,३६,३३०/- मात्र अस्पतालको खातामा दाखिला भएको र बाँकी रु २५,६७,५२६।५० हिनामिना गरिएको पाइएको आयोगले जनाएको छ।
यस भ्रष्टाचार प्रकरणमा संलग्न रहेको आरोपमा लेखा अधिकृत सुवेदी, तृप्ती शाही र बैंक काउन्टर इन्चार्ज गोमा सिजाली मगरविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ अनुसार मुद्दा दायर गरिएको हो।

विशेष अदालत, काठमाडौँमा दायर गरिएको आरोपपत्रमा लेखा अधिकृत सुवेदी र शाहीविरुद्ध बिगो जनही रु २५,६७,५२६।५० र गोमा सिजाली मगरविरुद्ध रु २४,०२,०९०।- बिगो कायम गरी सजायको मागदाबीसहित मुद्दा दायर गरिएको पौडेलले बताए।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here