बारा, परवानीपुर — परवानीपुर गाउँपालिकाको १६औँ गाउँसभा सोमबार गाउँपालिकाको सभाहलमा औपचारिक रूपमा सम्पन्न भएको छ। सभामा आर्थिक वर्ष २०८२/०८३ का लागि कुल रु. ३४ करोड ३४ लाख ६९ हजार १ सय ५८ को बजेट प्रस्तुत गरिएको छ।

कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष सुगन्धी देवी कनुईनको आग्रहमा प्रमुख प्रशासकीय अधिकृत मुन्ना साह रौनियारले बजेट प्रस्तुत गरेका थिए। गाउँसभा अध्यक्ष रामक्षत्री प्रसाद कुर्मीको अध्यक्षतामा बसेको थियो।

विज्ञापन

समावेशी र समन्यायिक दृष्टिकोणमा आधारित बजेट

बजेट प्रस्तुत गर्दै प्रमुख प्रशासकीय अधिकृत रौनियारले बजेट समावेशी, समन्यायिक र विकासमुखी दृष्टिकोणमा तयार गरिएको जानकारी दिए।
उनका अनुसार बजेटमा भौतिक पूर्वाधारको निर्माणसँगै शिक्षा, स्वास्थ्य, कृषि, महिला, बालबालिका, अपांगता भएका व्यक्ति, वृद्धवृद्धा, तथा युवा लक्षित कार्यक्रमहरूलाई विशेष प्राथमिकता दिइएको छ।

रौनियारले मानव विकासका सूचकाङ्कमा सुधार ल्याउने उद्देश्यले सामाजिक सुरक्षा, दक्षता अभिवृद्धि, स्वरोजगार, स्वास्थ्य बीमा, शैक्षिक सुधार, खानेपानी तथा सरसफाइका कार्यक्रमहरू समेत बजेटमा समावेश गरिएको बताए।

अध्यक्ष कुर्मीको प्रतिबद्धता

गाउँसभा अध्यक्ष रामक्षत्री प्रसाद कुर्मीले स्थानीय विकास योजनालाई दीर्घकालीन सोचअनुसार कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए।
उनले भने, “शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार विकास, सामाजिक सुरक्षा, तथा महिला र युवा सशक्तिकरणका कार्यक्रमहरूलाई प्राथमिकतामा राखेर बजेट निर्माण गरिएको छ।”

अध्यक्ष कुर्मीले विकास योजनाहरूको प्रभावकारी कार्यान्वयनमार्फत स्थानीय नागरिकको जीवनस्तर उकास्ने लक्ष्य रहेको उल्लेख गरे।

उपस्थिति र सहभागिता

गाउँसभामा जनप्रतिनिधि, गाउँपालिकाका कर्मचारी, सुरक्षा निकायका प्रतिनिधि, नागरिक समाजका अगुवा, सञ्चारकर्मीहरू लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा विभिन्न वडाका सदस्यहरूले बजेटमा स्थानीय आवश्यकताअनुसारका कार्यक्रम समावेश गर्न सुझाव तथा मागहरू समेत प्रस्तुत गरेका थिए।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here