वीरगंज, ११ असार – पर्सा जिल्ला अदालत परिसरमा प्रहरीमाथि हातपात गर्न खोजेको आरोपमा पर्सागढी नगरपालिका–६ का वडाध्यक्ष नवलकिशोर साह कलवार पक्राउ परेका छन्।
बुधबार अदालत परिसरमा प्रवेश गर्ने क्रममा गरिएको चेकजाँचका बेला वडाध्यक्ष कलवारले अदालत सुरक्षार्थ खटिएका प्रहरीसँग वादविवाद गर्दै हातपातको प्रयास गरेका थिए। विवाद उत्कर्षमा पुगेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय, पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) किशोर लम्सालका अनुसार वडाध्यक्ष कलवारले अनावश्यक रूपमा प्रहरीलाई धम्क्याउने र हात हाल्ने प्रयास गरेपछि उनलाई नियन्त्रणमा लिइएको हो। हाल वडा प्रहरी कार्यालय श्रीपुरमा राखी सोधपुछ तथा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
पदमै रहेका जनप्रतिनिधिबाट यस्तो प्रकारको व्यवहार सार्वजनिक संस्थाको मर्यादाविपरीत रहेको भन्दै सर्वत्र आलोचना भइरहेको छ। प्रहरीले यस विषयमा कानुनी प्रक्रिया अघि बढाउने जनाएको छ।

























