वीरगंज, १२ असार — हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहँदा आज दिउँसोदेखि रातिसम्म देशका अधिकांश भागमा आंशिकदेखि साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखा, काठमाडौँले जनाएको छ।
आज दिउँसो कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
यसैगरी, देशका उच्च–पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको छ। कोशी प्रदेशको तराई क्षेत्र र मधेश प्रदेशका केही स्थानहरूमा हावाहुरी चल्न सक्ने सम्भावना पनि महाशाखाले जनाएको छ।
आज राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी प्रदेशसहित देशका पहाडी भागका केही स्थान र अन्य प्रदेशका थोरै स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा पनि हुन सक्नेछ।
यसैगरी, कोशी र बागमतीका उच्च पहाडी तथा हिमाली क्षेत्रमा केही स्थानमा र अन्य उच्च पहाडी तथा हिमाली क्षेत्रमा एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको जनाइएको छ।

























