वीरगंज, १३ असार — हाल देशभर मनसुनी वायुको प्रभाव रहेकाले आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित अन्य प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम, कोशी र बागमती प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानहरूमा भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ।
साथै, सबै प्रदेशका उच्च–पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा वा हिमपातको सम्भावना पनि रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्र तथा मधेश प्रदेशका थोरै स्थानहरूमा हावाहुरी चल्न सक्ने चेतावनी दिइएको छ।
यसैगरी, आज राति देशभर आंशिकदेखि साधारण बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा अन्य प्रदेशका थोरै स्थानहरूमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको छ।
कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानहरूमा भारीदेखि धेरै भारी वर्षा हुने पूर्वानुमान गरिएको छ। उच्च पहाडी तथा हिमाली भू-भागमा राति पनि हल्का देखि मध्यम वर्षा वा हिमपात हुन सक्ने संभावना रहेको महाशाखाले जनाएको छ।

























