वीरगंज, १२ असार — काठमाडौँबाट वीरगंजतर्फ आइरहेको एक मालवाहक ट्रकबाट ३१९ किलो चरेशसहित चालकलाई प्रहरीले पक्राउ गरेको छ।
लागु औषध ओसारपसार भइरहेको विशेष सूचनाको आधारमा प्रहरीले उक्त ट्रक नियन्त्रणमा लिएको हो।
प्रहरी चौकी सिर्सियाका कार्यालय प्रमुख, प्रहरी बरिष्ठ नायब निरीक्षक गगन बहादुर शाहीलाई प्राप्त विशेष सूचनाका आधारमा, जिल्ला प्रहरी कार्यालय, पर्साका प्रमुख गौतम मिश्रको निर्देशनमा संयुक्त प्रहरीको टोलीले प्रदेश २–०३–००१ ख ६३४८ नम्बरको मालवाहक ट्रक वीरगंज महानगरपालिका–२१ स्थित परवानीपुर चोकमा रोकी राखिएको अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ।

उक्त ट्रकको खोजतलास गर्ने क्रममा प्रहरीले चालकलाई नियन्त्रणमा लिई ट्रकको पछाडिको भागमा लुकाइछिपाइ राखिएको चरेश बरामद गरेको प्रवक्ता डीएसपी किशोर लम्सालले जानकारी दिए।
ट्रक चालक मकवानपुर जिल्लाको थाहा नगरपालिका–१२ निवासी ३६ वर्षीय बुद्धी बहादुर स्याङ्तानको साथबाट, सेतो प्लास्टिकको बोरामा प्याक गरिएको १३ पोका चरेश फेला परेको हो। बरामद चरेशको तौल ३१९ किलो रहेको र चालकको हाफ पाइन्टको खल्तीबाट नगद रु १ लाख ९२ हजार पनि बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका चालक स्याङ्तानसहित ट्रक, चरेश र एक थान मोबाइल जिल्ला प्रहरी कार्यालयमा ल्याइएको र लागुऔषध सम्बन्धी कसुरमा पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको प्रवक्ता लम्सालले बताए।

























