वीरगंज, १३ असार — गहवामाई मन्दिर परिसरमा आयोजना गरिएको ऐतिहासिक र भव्य रथयात्रा कार्यक्रममा श्रद्धा र भक्तिसँगै अप्रिय घटना पनि देखिएको छ। भक्तजनको ठूलो भीड, रथयात्राको उल्लास र पूजाआर्जनको माहोलबीच केही महिलाहरूको गरगहना चोरी भएको पुष्टि भएको छ।
प्राप्त जानकारी अनुसार, रथयात्रामा सहभागी भएका विभिन्न स्थानका महिलाहरूको गरगहना भीडको मौका छोपी चोरी गरिएको हो। पीडित महिलाहरूमा वीरगंजकी फूलकुमारी देवी, जुली यादव, स्वेता रानी, रिना देवी, रामगढवाकी निर्मला कुमारी, नगवाकी रामेश्वरी देवी, राधेमाईकी मालती देवी, पुनम देवी र कालिकामाईकी शारदा देवी छन्। ती महिलाहरूले सुनका गहना चोरी भएको गुनासो प्रहरी समक्ष दर्ता गराएका छन् ।
घटनापछि सक्रिय भएको पर्सा प्रहरीले घटनाको अनुसन्धान गर्दै एकजना शंकास्पद भारतीय महिलालाई पक्राउ गरेको छ। पक्राउ परेकी महिला भारत बिहार राज्यअन्तर्गत पश्चिम चम्पारण जिल्लाको बगाहा क्षेत्रस्थित पत्ता बिशुनपुरवाकी जयमती हरिजन रहेकी बताएकी छन्।
जिल्ला प्रहरी कार्यालय, पर्साले पक्राउ परेकी महिलासँग थप अनुसन्धान भइरहेको जानकारी दिएको छ। प्रारम्भिक अनुसन्धान अनुसार, जयमती हरिजनले भीडमा मौका छोपी गहना चोरेको आशंकामा पक्राउ गरिएको हो। घटनाबारे विस्तृत विवरण संकलन गर्ने काम जारी रहेको प्रहरी स्रोतले बताएको छ।
गहवामाई रथयात्रामा हजारौँ भक्तजनहरूको सहभागिता हुने भएकाले सुरक्षा चुनौती उच्च हुने गर्दछ। यस्ता कार्यक्रममा सुरक्षा व्यवस्थामा विशेष ध्यान दिनुपर्ने देखिएको छ। यसपटक पनि कार्यक्रमको सफलताको छायाँमा चोरीजस्ता आपराधिक क्रियाकलाप हुनु चिन्ताजनक विषय बनेको छ।
जिल्ला प्रहरी कार्यालय, पर्साले यस्ता घटनाबाट सतर्क रहन सर्वसाधारणलाई अपिल गर्दै चोरी वा कुनै आपराधिक गतिविधि देखिएमा तत्काल नजिकको प्रहरीलाई जानकारी गराउन अनुरोध गरेको छ।

























