वीरगंज, १४ असार — हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायतका पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
देशका उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा तथा हिमपात हुन सक्ने पूर्वानुमान छ। केही पहाडी स्थानहरूमा भारी वर्षाको जोखिम पनि रहेको विभागले जनाएको छ।
आज रातिसमेत देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। विशेषगरी गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। साथै ती प्रदेशका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने सम्भावना रहेको उल्लेख गरिएको छ।
मनसुन विशेष बुलेटिन अनुसार हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानमा तथा पश्चिममा सरदर स्थानभन्दा दक्षिणतर्फ रहेको छ। शनिबार साँझदेखि उक्त रेखा पश्चिम नेपाल नजिक उत्तरतर्फ सर्ने देखिएकोले कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा मनसुन थप सक्रिय हुने देखिएको छ।
असार १४ गते शनिबार साँझदेखि १६ गते सोमबार बिहानसम्म ती प्रदेशका पहाडी र तराई भू-भागहरूमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने प्रक्षेपण गरिएको छ। साथै अन्य प्रदेशका पहाडी क्षेत्रहरूमा पनि एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
विभागले संभावित भारी वर्षाका कारण भू-क्षय, बाढी, पहिरो, गेग्रान बहाव (debris flow) र शहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ। नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने, जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, निर्माण कार्य, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भन्दै पूर्वतयारीका लागि सरोकारवाला निकाय र सर्वसाधारणलाई अनुरोध गरिएको छ।
विभागले मनसुन प्रणालीको निरन्तर अनुगमन गरिरहेको र नियमित अद्यावधिक गर्दै जाने जानकारी दिएको छ। साथै दैनिक तीन दिने मौसम बुलेटिन नियमित रूपमा हेर्न पनि विभागले आग्रह गरेको छ।

























