काठमाडौँ, १९ असार— आगामी चार महिना डेंगी संक्रमणको उच्च जोखिमयुक्त समय हुने भएकाले सतर्कता अपनाउन इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले आग्रह गरेको छ। महाशाखाको अनुमान अनुसार यसवर्ष करिब ६० हजार जना डेंगी संक्रमित हुने सम्भावना रहेको छ।

महाशाखाद्वारा आयोजित अन्तक्र्रियामा विज्ञहरूले डेंगीबाट बच्न लामखुट्टेको प्रजनन चक्र तोड्नु नै सबैभन्दा प्रभावकारी उपाय भएको बताएका छन्। कीटजन्य रोग शाखाका प्रमुख डा. गोकर्ण दाहालले लामखुट्टेको लार्भा र फुल नष्ट गर्ने अभियान चार महिनाभन्दा बढी सञ्चालन गर्नुपर्ने जानकारी दिए। उनले भने, “झुल, धुप वा औषधिले घरभित्र सुरक्षा दिन सक्छ तर बाहिर निस्कँदा भाइरसयुक्त लामखुट्टेको टोकाइबाट संक्रमण हुन सक्छ। त्यसैले स्थानीय पालिकाको समन्वयमा प्रजनन चक्र नै नष्ट गर्नुपर्छ।”

तर स्थानीय तहका स्वास्थ्यकर्मीहरू अन्य काममा व्यस्त हुने भएकाले लामो समयसम्म अभियान सञ्चालनमा कठिनाइ हुने पनि उनले बताए। हाल १७ जिल्लाका १४७ पालिकासँग डेंगी रोकथाममा सहकार्य भइरहेको महाशाखाले जानकारी दिएको छ।

महाशाखा निर्देशक डा. चन्द्रभाल झाले डेंगी नियन्त्रण स्वास्थ्य क्षेत्रको मात्रै काम नभई सबै निकायको समन्वय आवश्यक रहेको बताए। “कतिपय देशमा वातावरण मन्त्रालयले पनि लामखुट्टे नियन्त्रणको जिम्मा लिएको छ,” उनले उल्लेख गरे।

सहरमा वर्षायामसँगै खाडल, फालिएका टायर, ससाना भाँडा र घरघरको फ्रिज तथा एसीको पानीमा पानी जमेर डेंगीको जोखिम झन् बढ्ने खतरा रहेको महाशाखाले जनाएको छ।

यस वर्ष सरकारले लामखुट्टे खोजी र नष्ट गर्नका लागि १० करोड रुपैयाँ बजेट छुट्याएको छ। एडिस जातको संक्रमित पोथी लामखुट्टेको टोकाइबाट सर्ने डेंगी रोग पहाडी क्षेत्रमा समेत फैलिएको छ। संक्रमित बिरामीलाई टोकेको लामखुट्टेले अरूमा पनि संक्रमण फैलाउन सक्छ। लामखुट्टेको आयु १ देखि ३ महिना रहन्छ।

डेंगी लागेपछि उच्च ज्वरो, टाउको र आँखाको गेडी पछाडि दुख्ने, मांसपेशी दुख्ने, वाकवाकी लाग्ने र वान्ता जस्ता लक्षण देखिने विज्ञहरूले बताएका छन्।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन