वीरगंज, १९ असार – बारा जिल्लाको सिम्रौनगढ नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रप्रसाद साह कानूसहित अन्य प्रतिवादीहरूको विरुद्ध भ्रष्टाचार मुद्दामा विशेष अदालतको फैसलाको विरोध गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीवार सर्वोच्च अदालतमा पुनरावेदन दायर गरेको छ।
आयोगका अनुसार, सिम्रौनगढ नगरपालिका र उपभोक्ता समितिका बीचमा भएको सम्झौतामा सामुदायिक भवनको निर्माण कार्य समयमै सम्पन्न नगरी, गलत नापी किताब र कार्यसम्पन्न प्रतिवेदन तयार गरी उपभोक्ता समितिलाई भुक्तानी गरिएको थियो। यससँगै, भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत वीरेन्द्रप्रसाद साह र अन्य प्रतिवादीहरूलाई रु ३७ लाख ९३ हजार ३९२ रुपैयाँ बिगो कायम गर्दै जेल र जरिवाना माग गरिएको थियो।
विशेष अदालतमा २०८१ वैशाख १७ गते भएको फैसलामा आरोपहरू खारेज गरिएका थिए। तर, आयोगले उक्त फैसलामा असन्तुष्टि जनाउँदै सर्वोच्च अदालतमा पुनरावेदन दायर गरेको छ।
सर्वोच्च अदालतमा पुनरावेदन दायर भएकोले अब यो मुद्दा थप कानूनी प्रक्रियामा प्रवेश गर्नेछ। प्रवक्ता राजेन्द्र कुमार पौडेलले भने, “हामीले न्याय प्राप्तिका लागि सर्वोच्च अदालतमा पुनरावेदन दायर गरेका हौँ र हामी आशावादी छौं कि यो मुद्दामा न्यायलयले उचित फैसला दिनेछ।”

























