वीरगंज, २० असार — हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास सक्रिय रहेकाले अधिकांश स्थानहरूमा वर्षाको सम्भावना रहेको हो।
महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ। यिनै प्रदेशका एक-दुई स्थानमा भारी वर्षा समेत हुन सक्ने पूर्वानुमान गरिएको छ। उच्च पहाडी तथा हिमाली भू-भागहरूमा भने हल्का देखि मध्यम वर्षा वा हिमपातको सम्भावना छ।
आज राति पनि देशभर आंशिकदेखि साधारण बदली रहने महाशाखाले जनाएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्का देखि मध्यम वर्षा तथा एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहन सक्छ। अन्य प्रदेशहरूका थोरै स्थानहरूमा पनि वर्षा हुने सम्भावना रहेको छ।
मौसमविद्हरूले आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन्। विशेष गरी भारी वर्षा हुने सम्भावना रहेका क्षेत्रहरूमा बाढी, पहिरो तथा सडक अवरोधको जोखिम रहने भएकाले सावधानी अपनाउन अनुरोध गरिएको छ।

























