वीरगञ्ज, २१ असार । पर्सा जिल्लाको ठोरी गाउँपालिकाले ऐतिहासिक उपलब्धि हात पार्दै जिल्लाकै पहिलो साक्षर गाउँपालिका बन्न सफल भएको छ। शनिबार ठोरी–३, शिकारीवासमा आयोजित विशेष समारोहमा गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठले ठोरीलाई औपचारिक रूपमा साक्षर पालिका घोषणा गरे।

कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति पर्साका प्रमुख निरञ्जन प्रसाद साह सोनार (अजय सर्राफ) र विशिष्ट अतिथि प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको उपस्थिति रहेको थियो।

विज्ञापन

गाउँपालिकाका शिक्षा शाखा प्रमुख भूपाल जोशीका अनुसार, नेपाल सरकारले तोकेको १२ वटा मापदण्डमध्ये ८ वटा पुरा गरेपछि ठोरीले साक्षर पालिका बन्ने मान्यता प्राप्त गरेको हो। पालिकाका पाँच वटै वडामा ‘आसमान नेपाल’को सहकार्यमा गरिएको सर्वेक्षणमा १५ देखि ६० वर्ष उमेर समूहका १५ हजार ६ सय ७८ जनामध्ये ९८.८६ प्रतिशत अर्थात् १५ हजार ३ सय २१ जना साक्षर भेटिएका थिए।

समारोहमा बोल्दै प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले “साक्षरता दर ९८.८६ प्रतिशत पुग्नु गर्वको कुरा हो। अब यहाँका जनतालाई सीपमूलक र व्यावहारिक शिक्षामा जोड दिनुपर्छ,” भने।

जिल्ला समन्वय प्रमुख सोनारले यसलाई ठोरीवासीको सामूहिक प्रयासको नतिजा बताउँदै, “शिक्षा विकासको मुख्य आधार हो। ठोरीले यो उदाहरणीय कदम चालेर अरू पालिकालाई पनि प्रेरणा दिएको छ,” भने।

गाउँपालिका अध्यक्ष श्रेष्ठले भने, “मधेस प्रदेशका १३६ पालिकामध्ये सातौँ र पर्साका १४ पालिकामध्ये पहिलो साक्षर पालिका बन्नु ठोरीका लागि गौरवको विषय हो। अब गुणस्तरीय शिक्षामा लगानी बढाउने छौं।”

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष गोकुल कुमारी रेग्मी, प्रमुख प्रशासकीय अधिकृत धर्मराज थापा, उद्योग विभागका महानिर्देशक सुशील साह, नेपाल पत्रकार महासङ्घ पर्साका अध्यक्ष ओमप्रकाश खनाल, स्वास्थ्य कार्यालय पर्साका प्रमुख विनोद झा, नारायणी अस्पतालका मेसु डा. चुमनलाल दासलगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको पनि उपस्थिति थियो।

नेपाल सरकारको मापदण्डअनुसार १५ देखि ६० वर्ष उमेर समूहका कम्तीमा ९५ प्रतिशत साक्षर भएमा कुनै पालिकालाई साक्षर घोषणा गर्न सकिन्छ। ठोरीले यो स्तर सहजै पार गर्दै पर्सा जिल्लामै पहिलो साक्षर पालिका बन्ने गौरव हासिल गरेको छ। यो उपलब्धिले अरू पालिकाहरूलाई पनि साक्षरता अभियानमा लाग्न प्रेरणा दिने विश्वास लिइएको छ।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here