
काठमाडौँ — आकाश दीपको उत्कृष्ट बलिङ प्रदर्शनमा भारतले आइतबार एजबास्टेनमा भएको दोस्रो टेस्टमा इंग्ल्यान्डलाई ३३६ रनले पराजित गरेको छ। पाँच टेस्टको शृंखला अब १–१ को बराबरीमा पुगेको छ।
जस्प्रित बुमराहलाई विश्राम दिइएपछि मौका पाएका २८ वर्षीय तीव्र बलर दीपले ९९ रन खर्चेर ६ विकेट लिँदै ६०८ रनको विशाल लक्ष्य पछ्याएको इंग्ल्यान्डलाई पाँचौं तथा अन्तिम दिन २७१ रनमा समेटेका हुन्। उनले खेलभरि १४७ रन खर्चेर १० विकेट लिए। आठौं टेस्ट खेलिरहेका दीपका लागि यो करिअरकै सर्वश्रेष्ठ प्रदर्शन बन्यो।
इंग्ल्यान्डका जेमी स्मिथले फेरि पनि राम्रो प्रदर्शन गरे। पहिलो इनिङ्समा अविजित १८४ रन बनाएका विकेटकिपर–ब्याटर स्मिथले दोस्रो इनिङ्समा ९९ बलमा ९ चौका र ४ छक्का प्रहार गर्दै योगदान दिए।
एजबास्टेनमै भारत यसअघि खेलेका ८ टेस्टमध्ये ७ मा पराजित भएको थियो भने १ खेल बराबरीमा सकिएको थियो।
प्लेयर अफ द म्याच भने भारतीय कप्तान शुबमन गिल घोषित भए। २५ वर्षीय गिलले पहिलो इनिङ्समा २६९ रन र दोस्रो इनिङ्समा १६१ रन बनाउँदै ऐतिहासिक प्रदर्शन गरे। उनी टेस्टको दुई इनिङ्समा क्रमशः २५० र १५० भन्दा बढी रन बनाउने पहिलो खेलाडी बने।