अमेरिका — अमेरिकाको टेक्सास राज्यको दक्षिण–मध्य क्षेत्रमा भीषण वर्षापछि आएको बाढीका कारण मृत्यु हुनेको संख्या ६७ पुगेको छ। जलाधार क्षेत्रको सतह अत्यधिक बढेपछि पछिल्ला दुई दिनदेखि लगातार आएको बाढीले ठूलो जनधनको क्षति गरेको स्थानीय अधिकारीहरूले जनाएका छन्।

अमेरिकी सञ्चारमाध्यम सिएनएनका अनुसार, मृत्यु हुनेमा सबैभन्दा धेरै केरि काउन्टीमा ५९ जना, ट्राभिसमा ४ जना, बर्नेटमा ३ जना र केन्डाल काउन्टीमा १ जना रहेका छन्।

विज्ञापन

बाढीले हन्ट टेक्सासमा रहेको ‘क्रिस्टियन समर क्याम्प’ समेत प्रभावित भएको छ। सो क्याम्पबाट ७५० मध्ये २७ जना किशोरीहरू बेपत्ता भएका छन्। नदीको सतह अत्यधिक बढेपछि ती किशोरीहरू बेपत्ता भएको बताइएको छ। प्रहरीले उनीहरूको खोजी कार्य जारी राखेको छ।

समर क्याम्पबाट उद्धार गरिएकी १३ वर्षीया एलिनोर लेस्टरले घटनाबारे बताउँदै भनिन्, “क्याम्प पूरै नष्ट भएको थियो। हेलिकोप्टरले हामीलाई उद्धार गर्‍यो। हामी डोरी समातेर पुल पार गर्दै पानीबाट बाहिरिएका थियौं।”

टेक्सासका गभर्नर ग्रेग एबटले अहिलेसम्म ८५० जनालाई बाढीग्रस्त क्षेत्रबाट सकुशल उद्धार गरिएको जानकारी दिएका छन्। हेलिकोप्टर, बोट र प्रहरीसहितका टोलीले अझै उद्धार कार्य जारी राखेको उनले बताएका छन्। “उद्धारका लागि हामी कुनै हदसम्म पुग्न तयार छौं,” गभर्नर एबटले भने।

टेक्सासका उप–गभर्नर ड्यान प्याट्रिकले अझै पनि जोखिम कायमै रहेकोले मृतक संख्या बढ्न सक्ने चेतावनी दिएका छन्। बाढीग्रस्त क्षेत्रमा पर्ने करिब २० हजार जनसंख्या भएको एउटा सिंगो गाउँलाई पूर्ण सतर्कता अपनाउन आग्रह गरिएको उनले बताए।

हाल बाढी प्रभावित क्षेत्रमा पानी, विद्युत् र सञ्चार सेवा पूर्ण रूपमा अवरुद्ध भएको छ। करिब ५ सय सुरक्षाकर्मी र १४ वटा हेलिकोप्टर उद्धार कार्यमा खटिएका छन्।

टेक्सासका सैन्य अधिकारी मेजर जनरल थोमस सुएल्जरका अनुसार, आपतकालीन कर्मचारीहरूले कम्तीमा १ हजारभन्दा बढी स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा पु-याएका छन्। तीमध्ये करिब ५ सय जनालाई हेलिकोप्टरमार्फत उद्धार गरिएको छ।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here