वीरगंज, २३ असार — पर्सा स्वास्थ्य कार्यालयका अधिकृत जयमोद ठाकुर पत्रकारहरूमाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरी नियन्त्रणमा परेका छन्। घटनापछि नेपाल पत्रकार महासङ्घ, प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपालसहितका पत्रकार सङ्गठनहरूले कडा आपत्ति जनाउँदै तुरुन्त कानुनी कारबाहीको माग गरेका छन्।

हाइलाइट्स

  • पत्रकारहरूमाथि गालीगलौज र दुर्व्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा, मापसे जाँच र कानुनी प्रक्रिया अघि बढाउने तयारी।
  • नेपाल पत्रकार महासङ्घ, प्रेस चौतारी र प्रेस सेन्टरको संयुक्त विरोध, तत्काल कारबाही नभए सडक आन्दोलनको चेतावनी।
  • स्वास्थ्य कार्यक्रममै मादक पदार्थ सेवन गरेर दुर्व्यवहार, पेसागत मर्यादा र प्रेस स्वतन्त्रतामाथि गम्भीर प्रश्न उठ्यो।

घटनाक्रमका अनुसार, आइतवार वीरगंजस्थित क्लासिक ब्यांक्वेटमा स्वास्थ्य कार्यालयद्वारा आयोजित स्वास्थ्य सम्बन्धी तालिममा समाचार सङ्कलनका लागि पुगेका पत्रकारहरूमाथि ठाकुरले मादक पदार्थ सेवन गरी गालीगलौज र अभद्र व्यवहार गरेका थिए। चलचित्र पत्रकार सङ्घको अर्को कार्यक्रममा सहभागी हुन पुगेका केही पत्रकारहरू भूलवश स्वास्थ्य कार्यालयको तालिममा प्रवेश गरेपछि ठाकुर आक्रोशित भएका थिए।

विज्ञापन

यात्रा डेलीका पत्रकार अर्जुन चौधरी र राजु बैठासहित आधा दर्जनभन्दा बढी पत्रकारहरूले ठाकुरले आफूहरूलाई सार्वजनिक रूपमा अपमानित गरेको, गालीगलौज गरेको र कार्यक्रममा बाधा पुर्‍याएको भन्दै आइतवार साँझ जिल्ला प्रहरी कार्यालय, पर्सामा जाहेरी दर्ता गराएका थिए। पत्रकारहरूको भनाइमा ठाकुरले “राजु बैठा को हो?” भन्दै अपमानजनक व्यवहार गरेका थिए। दुर्व्यवहारपछि ठाकुर एक बिचौलियाको सहयोगमा कार्यक्रम स्थलबाट फरार भएका थिए।

घटनापछि नेपाल पत्रकार महासङ्घ पर्साका अध्यक्ष ओमप्रकाश खनालको नेतृत्वमा प्रहरी कार्यालय पुगेको टोलीले ठाकुरमाथि मापसे जाँच गरी अभद्र व्यवहारको कसुरमा कारबाही गर्न जाहेरी दर्ता गराएको थियो। तर, प्रहरीले छलफलका लागि ठाकुरलाई बोलाए पनि कुनै निष्कर्ष ननिस्किएपछि नियन्त्रणमा लिएको जनाएको छ।

नेपाल पत्रकार महासङ्घ पर्सा, प्रेस चौतारी नेपाल, पर्सा र प्रेस सेन्टर नेपाल, पर्साले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै ठाकुरमाथि तत्काल कानुनी कारबाही गर्न माग गरेका छन्। उनीहरूले प्रहरी प्रशासनको भूमिकामाथि प्रश्न उठाउँदै ढिलासुस्ती गरे सडक आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन्। पत्रकार महासङ्घ, पर्साका सचिव विजय महतोले दोषीलाई नकारबाही गरे आन्दोलन गर्ने तयारी गरिएको बताए।

स्थानीय बासिन्दाहरूले पनि स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा कार्यरत अधिकृतको यस्तो व्यवहारप्रति आक्रोश व्यक्त गर्दै स्वास्थ्य सेवाप्रति अविश्वास बढ्ने चिन्ता व्यक्त गरेका छन्।

आइतवार नै पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल र प्रहरी उपरीक्षक गौतम मिश्रलाई घटनाबारे जानकारी गराइएको थियो। प्रहरीले ठाकुरलाई नियन्त्रणमा लिएर मापसे जाँच र आवश्यक कानुनी प्रक्रिया अघि बढाउने आश्वासन दिएको थियो । तर, पत्रकार महासङ्घ र अन्य सङ्गठनहरू प्रहरीको तत्कालीन कार्यशैलीप्रति असन्तुष्ट देखिएका छन्।

यस घटनाले प्रेस स्वतन्त्रता, पेसागत मर्यादा र सूचनाको स्वतन्त्र प्रवाहमा गम्भीर चुनौती खडा गरेको विज्ञहरूले बताएका छन्। स्वास्थ्य क्षेत्रका जिम्मेवार पदाधिकारी नै मादक पदार्थ सेवन गरेर अभद्र व्यवहार गर्दा स्वास्थ्य प्रणालीप्रति समेत प्रश्न उठेको छ।

स्वास्थ्य अधिकारी जयमोद ठाकुरमाथि कारबाही र निष्पक्ष छानबिनको माग गर्दै पत्रकार तथा नागरिक समाजको दबाब चुलिंदै गएको छ। प्रहरी प्रशासनले चाँडो निर्णय नगरे आन्दोलन चर्किने सम्भावना देखिएको छ। घटनाले पर्साको सामाजिक वातावरणमा पनि व्यापक तरङ्ग ल्याएको छ।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here