वीरगंज, २४ असार — धनुषाको हँसपुर नगरपालिकाका तत्कालीन उपप्रमुख रेणुदेवी झा, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत केशवकुमार अधिकारी, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामलोचन मंडलसहित नौजना तथा निर्माण व्यवसायी देव कन्स्ट्रक्सनविरुद्ध सार्वजनिक सम्पत्ति हिनामिना तथा हानिनोक्सानी गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमवार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ।

आयोगका अनुसार हँसपुर नगरपालिका वडा नं ५ स्थित सुगा निकासदेखि कट्टी चोकसम्मको पीसीसी ढलान योजनामा अनियमितता भएको उजुरीका आधारमा गरिएको अनुसन्धानबाट करोडौं रकम हिनामिना भएको पुष्टि भएको हो।

विज्ञापन

आव २०७६/०७७ को नगरसभाबाट स्वीकृत योजनाअनुसार नगरपालिकाले रु १ करोड विनियोजन गरेको योजनाको लागत अनुमान प्राविधिकहरूले रु १ करोड ४८ लाख ४१ हजार ९४७.१४ रुपैयाँ तय गरेका थिए। तर सम्झौता मूल्य करसहित रु ९५ लाख २७ हजार ७९३.६६ मा निर्माण कार्य सम्पन्न गर्ने गरी देव कन्स्ट्रक्सनसँग सम्झौता भएको थियो।

तर, कार्य सम्पन्न भएपनि स्थलगत नापजाँच तथा प्राविधिक प्रतिवेदन अनुसार निर्माण कार्यमा ठगी भएको खुलेको छ। उदाहरणका लागि रामललितको घर अगाडि २१३ मिटर पीसीसी ढलान गरिएको उल्लेख भएपनि स्थलगत नापजाँचमा केवल ४५ मिटर मात्रै भएको पाइएको छ। यसैगरी, अर्को खण्डमा २६० मिटर भनिएपनि १५४ मिटर मात्र निर्माण भएको भेटिएको छ। गलत नापी किताव तयार गरी रु ७ लाख ८१ हजार ८१८.०३ बढी भुक्तानी दिइएको देखिएको आयोगको दाबी छ।

यसैगरी, निर्माण कार्य सम्पन्न गर्न थपिएको म्यादका सम्बन्धमा आवश्यक बैंक जमानत लिने प्रावधानको पालना नगरिएको, पेश्की वापत दिइएको रु १६ लाख ५० हजार रुपैयाँ बैंक जमानत नलिई सम्झौता अन्त्य गरिएको र रु २८ लाख ४० हजार ३५० बराबरको जमानत सुरक्षण अवधि समाप्त भई जफत हुन नसकेको पाइएको छ। यसरी रु ५२ लाख ७२ हजार १६८.०३ हिनामिना तथा हानिनोक्सानी भएको आयोगको निष्कर्ष छ।

आयोगले उपप्रमुख झा, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अधिकारी, निमित्त प्रमुख प्रशासकीय अधिकृत मंडलसहित अन्य कर्मचारी तथा निर्माण व्यवसायी देव कन्स्ट्रक्सनका सञ्चालकहरूलाई आपसी मिलोमतोमा सरकारी सम्पत्ति हिनामिना गरेको आरोपमा कारबाही गर्न विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेल बताए।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here