लन्डन — नोभाक जोकोभिचले अस्ट्रेलियाका एलेक्स डी मिनौरलाई पराजित गर्दै १६ औं पटक विम्बल्डन टेनिसको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । आठ पटकका च्याम्पियन रोजर फेडेरर प्रत्यक्षदर्शी बनेको उक्त खेलमा सर्बियाका जोकोभिचले सोमबार ११ औं वरीयता प्राप्त मिनौरलाई १–६, ६–४, ६–४, ६–४ को सेटमा पराजित गरेका हुन्।
सेन्टर कोर्टमा भएको खेलमा जोकोभिचले पहिलो सेट गुमाए पनि बाँकी तीन सेटमा उत्कृष्ट प्रदर्शन गर्दै जित दर्ता गरे। सात पटक विम्बल्डन जितिसकेका जोकोभिच २५ औं ग्रान्ड स्लाम उपाधितर्फ अघि बढेका छन्। यदि उनले यस पटक विम्बल्डन जिते भने, फेडेररको सर्वाधिक आठ पटक विम्बल्डन जित्ने कीर्तिमान बराबरी हुनेछ।
सक्रिय खेल जीवनबाट संन्यास लिएका स्विस महान खेलाडी फेडेरर रोयल बक्सबाट खेल हेर्दै गर्दा जोकोभिचले पहिलो सेटमा संघर्ष गरे। पहिलो सेटमा जोकोभिचले १६ अनावश्यक गल्ती गर्नुका साथै चार डबल फल्ट गरेका थिए। त्यस क्रममा उनले दुई ब्रेक पनि गुमाएका थिए।
तर दोस्रो सेटको सुरुवातमै ब्रेक गर्दै उनले खेलमा फर्किए र १९ मिनेटमै सेट आफ्नो पक्षमा पारे। त्यसपछि उनले आफ्नो लय कायम राख्दै लगातार दुई सेट जित्दै खेल समाप्त गरे।
अब क्वाटरफाइनलमा जोकोभिचले २२ औं वरीयताका इटालीका फ्लाभिओ कोबोलीसँग प्रतिस्पर्धा गर्नेछन्।