काठमाडौँ, २४ असार — विकासशील राष्ट्रहरूको समूह ब्रिक्सले अमेरिकी नीतिको कडा आलोचना गर्दै विश्व व्यापारमा अस्थिरता निम्त्याउने कदमबाट सचेत रहन आग्रह गरेको छ। ब्राजिलको रियो दि जेनेरियोमा सम्पन्न १७ औं ब्रिक्स शिखर सम्मेलनले अमेरिकाद्वारा एकतर्फी रूपमा भन्सार बढाउने र आयातमा प्रतिबन्ध लगाउने निर्णयको विरोध गरेको हो।
दुईदिने सम्मेलनको घोषणापत्रमा इरानमाथिको सैन्य आक्रमणलाई अन्तर्राष्ट्रिय कानुनको उल्लंघन भनिएको छ भने गाजामा इजरायली आक्रमणको पनि आलोचना गरिएको छ। तर, रुसद्वारा युक्रेनमा भइरहेको आक्रमणबारे भने ब्रिक्स मौन रह्यो।
चीनका राष्ट्रपति सी जिनपिङ र रुसका राष्ट्रपति भ्लादिमिर पुटिन अनुपस्थित रहेका सम्मेलनमा चीनका तर्फबाट प्रधानमन्त्री र रुसका तर्फबाट विदेशमन्त्रीले प्रतिनिधित्व गरे। सी २०१३ पछि पहिलोपटक सम्मेलनमा अनुपस्थित भए भने पुटिनले युक्रेन युद्धसँग सम्बन्धित अन्तर्राष्ट्रिय पक्राउ पुर्जीको विरोधस्वरूप सहभागिता जनाएनन्।
ब्रिक्सको आलोचनापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्रिक्स नीतिलाई समर्थन गर्ने देशहरूलाई १० प्रतिशत अतिरिक्त भन्सार शुल्क लगाउने चेतावनी दिएका छन्। सामाजिक सञ्जाल ट्रुथमार्फत उनले ब्रिक्सलाई “अमेरिकाविरोधी समूह” भनेका छन् र त्यससँग जोडिने कुनै पनि राष्ट्रले अमेरिकी बजारमा मूल्य चुकाउनु पर्ने बताएका छन्। ट्रम्पको चेतावनीपछि दक्षिण अफ्रिकाले आफू अमेरिकाविरोधी नरहेको स्पष्ट पारेको छ।
इरानलाई सहानुभूति, भारतको नाजुक सन्तुलन
इरान ब्रिक्सको नयाँ सदस्य राष्ट्रका रूपमा सम्मेलनमा सहभागी भयो र अमेरिका तथा इजरायलद्वारा भएको सैन्य हमलाप्रति ब्रिक्सबाट सहानुभूति पायो। इरानी विदेशमन्त्री अब्बास अराघचीले प्रतिनिधित्व गरेको टोलीले अमेरिका–इरान द्वन्द्वका विषयमा ब्रिक्सलाई आफ्नो पक्षमा ल्याउन प्रयास गर्यो।
भारतले इरानमाथिको हमलाको विरोधमा साथ दिएको भए पनि युक्रेन युद्ध वा इजरायलको आलोचनाबाट टाढै रह्यो। भारतले जम्मु–कश्मीरको पहलगाममा भएको आतंकवादी हमलाको ब्रिक्स शिखर सम्मेलनबाट कडा शब्दमा निन्दा गराएको छ। यसले भारतले आफ्नो कूटनीतिक रणनीति सन्तुलनमा राख्न खोजेको देखिन्छ। सम्मेलनमा प्रधानमन्त्री नरेन्द्र मोदी सहभागी थिए।
ब्रिक्स विस्तार र आगामी नेतृत्व भारतको हातमा
यो शिखर सम्मेलनले इन्डोनेसियालाई नयाँ पूर्ण सदस्यको रूपमा मान्यता दिएको छ। यस्तै, बेलारुस, कजाकिस्तान, क्युबा, नाइजेरिया लगायत १० देशलाई आमन्त्रित सदस्यका रूपमा सहभागी गराइएको छ।
ब्रिक्स अहिले ११ सदस्यीय बनेको छ, जसमा ब्राजिल, रुस, भारत, चीन, दक्षिण अफ्रिका, इजिप्ट, इथियोपिया, इरान, यूएई, साउदी अरेबिया र इन्डोनेसिया छन्।
ब्रिक्सलाई नाटोको प्रतिस्पर्धी गठबन्धनका रूपमा हेरिए पनि ब्रिक्स सैन्य होइन, आर्थिक तथा भूराजनीतिक सहकार्यमा केन्द्रित समूह हो। चीन र रुसले अमेरिकी प्रभाव घटाउने लक्ष्यसहित ब्रिक्सलाई सशक्त बनाउन खोजिरहेका छन्, तर ब्राजिल र भारतजस्ता मुलुकहरू भने यसलाई पश्चिमविरोधी मोर्चा बनाउने पक्षमा छैनन्।
ब्रिक्सको १८ औं शिखर सम्मेलन भारतमा आयोजना हुने भएको छ।

























