वीरगंज , २४ असार – भू–जल सतह घटेपछि वीरगंजमा पानीको चरम अभाव देखिएको छ। चापाकलहरू सुक्न थालेपछि नगरवासीको दैनिक जीवनमा गम्भीर असर परेको छ। खाना पकाउने, सरसफाइ गर्ने, पशुपालनजस्ता आधारभूत कार्यसमेत प्रभावित भएका छन्।
यस्तो सङ्कटको अवस्थामा वीरगंज महानगरपालिकाले ट्याङ्कर र ट्याङ्कीमार्फत पानी वितरण सुरु गरेको छ। खानेपानी संस्थानबाट सेवा नपुगेका क्षेत्रहरूमा बोरिङ तथा अस्थायी ट्याङ्की जडान गरी पानी आपूर्ति गर्ने कार्य तीव्र पारिएको छ।
पानी अभाव झेलिरहेका वडाहरूमा दैनिक तालिकाअनुसार वितरणको व्यवस्था गरिएको छ। वीरगंज महानगर प्रमुख राजेशमान सिंहले पानीको यो चरम संकटलाई प्राकृतिक आपद्को रूपमा व्याख्या गर्दै सबै पक्षलाई सहकार्य गर्न आग्रह गरेका छन्।
उनले भने, “यो सामान्य समस्या होइन, गम्भीर प्राकृतिक अवस्था हो। हामी तत्काल राहतका उपायहरू गर्दैछौं भने दीर्घकालीन समाधानका लागि पनि क्रियाशील छौं।”
महानगरले खानेपानी संस्थानसँग समन्वय गरेर केही सार्वजनिक स्थानमा अस्थायी धारा र ट्याङ्की जडान गरिसकेको छ। सीमित स्रोतका बाबजुद ३२ वटै वडामा पानी पुगोस् भन्ने लक्ष्यसहित वितरण तालिका लागू गरिएको छ।
महानगरको तर्फबाट सबै वडामा समान रूपमा पानी आपूर्ति गर्न निर्देशन दिइएको छ। पानी संकटको समाधानलाई महानगरले आफ्नो प्रमुख एजेन्डाका रूपमा अघि सारेको छ।
महानगरले आवश्यक परे डिप बोरिङ, पम्पिङ प्रणाली तथा भू–जल व्यवस्थापनसम्बन्धी दीर्घकालीन योजनाहरू कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको छ।

























