वीरगंज,२४ असार – नेसनल एकेडेमी क्याम्पसले २५औं वार्षिकोत्सवको अवसरमा वीरगंज १४ बहुअरीस्थित कुलिया उम्मे कुल्सुम लिल्वनाय कन्या विद्यालयमा मङ्गलवार एक समारोह आयोजना गर्दै ४० थान नयाँ कपडा वितरण गरेको छ।
समारोहमा समाजसेवी प्रकाशकुमार उपाध्यायले शिक्षा र त्यसको महत्वबारे विचार व्यक्त गर्दै भने, “हाम्रो छोरिबेटीहरुको जीवनस्तर उकास्न शिक्षा निकै महत्वपूर्ण हुन्छ जसले उनलाई आत्मनिर्भर र समृद्ध बनाउँछ। यसका साथ, परिवार र समाजलाई पनि सशक्त बनाउँछ।” उनले बहुअरीको कन्या विद्यालयको बारेमा बोल्दै थपे, “यहाँको विद्यालयको नाम देशभरि फैलाउन तपाईंहरूले पढाइमा उत्कृष्टता हासिल गर्नुपर्छ।”
कलेजका प्रमुख केदारप्रसाद साहले विद्यालयको शिक्षाका बारेमा टिप्पणी गर्दै भने, “हाम्रो समाज तबसम्म समृद्धि हासिल गर्न सक्दैन जबसम्म हाम्रो छोरीबेटीहरू शिक्षा प्राप्त गर्दैनन् र उन्नति गर्दैनन्। आज हामी तपाईंहरूको माझ सानो सहयोग गर्न पाउँदा अत्यन्त खुशी छौँ।”
वीरगंज कपडा बैंकका अध्यक्ष लालबाबु सिंहले कपडा वितरण कार्यक्रममा योगदान दिँदै भने, “हाम्रो उद्धेश्य भनेको असहाय र आवश्यकता परेका व्यक्तिहरूलाई कपडा र अन्य सामाग्री उपलब्ध गराउनु हो। हामी यो काम ६ वर्षदेखि निरन्तर गर्दै आएका छौँ।”
कुलिया उम्मे कुल्सुम लिल्वनाय कन्या विद्यालयका प्रधानाध्यापक एराजले विद्यालयका विद्यार्थीहरूको उत्कृष्टताबारे बोलेर कलेजलाई धन्यवाद दिएका थिए। उनले भने, “हामीले हालैको एसईई परीक्षामा ६ स्थान प्राप्त गरेका छौं र आगामी वर्षमा हामी प्रथम स्थान हासिल गर्ने विश्वास राख्दछौं।”
समारोहको समापनमा कलेज परिवारले विद्यालयका विद्यार्थीलाई नयाँ कपडा उपलब्ध गराएर हौसला प्रदान गरेकोमा आभार व्यक्त गर्दै कलेजलाई धन्यवाद दिएका थिए।
उक्त कार्यक्रममा कलेजका निर्देशक राजकुमार सहनी, प्राध्यापक अफरोज अहमद, कलेजका लाइब्रेरीयन सुरज शर्मा, शिक्षक सलमा नेशा, पुष्पा देवी, नुरजहा लगायत शिक्षक तथा विद्यार्थीहरुको उपस्थिती रहेको थियो।

























