वीरगंज, २५ असार – तराई–मधेस क्षेत्रमा जलवायु परिवर्तनका कारण उत्पन्न खडेरीले गम्भीर खानेपानी सङ्कट निम्त्याएपछि खानेपानी मन्त्री प्रदीप यादव बुधवार वीरगंज आइपुगेका छन्। पानीको गम्भीर समस्याको स्थलगत अवलोकन गर्न मन्त्री यादव वीरगंज महानगरपालिकाका विभिन्न प्रभावित वडा, टोल तथा बस्तीहरूमा पुगेका हुन्।
पर्सा, बारा, रौतहट लगायतका जिल्लामा अधिकांश चापाकलहरू सुकेका छन्, जसका कारण हजारौं नागरिकको दैनिकी कष्टकर बन्दै गएको मन्त्री यादवले बताएका छन्। “यो प्राकृतिक विपत्तिले नागरिकहरूलाई गम्भीर पीडा दिएको छ। पीडितहरूप्रति सहानुभूति प्रकट गर्दै समस्या समाधानमा सरकार सक्रिय रूपमा जुटेको छ,” मन्त्री यादवले बताएका छन्।
सरकारी तथ्यांक अनुसार हाल बारा र पर्सा जिल्लामा २३७ भन्दा बढी स्थानमा डिप बोरिङ सम्पन्न गरिए पनि पानीको समस्या पूर्ण रूपमा समाधान हुन सकेको छैन। वीरगंज महानगरपालिकासहित तराई मधेस क्षेत्रमा पानीको समस्या समाधान गर्न सरकार गम्भीरताका साथ लागिपरेको मन्त्री यादवले बताएका छन्।
यो सङ्कट समाधानका लागि मन्त्री यादवले प्रदेश तथा स्थानीय सरकारसँगै खानेपानी तथा सरसफाइ क्षेत्रमा संलग्न सम्पूर्ण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूलाई आपसी सहकार्य र सहमतिका लागि आग्रह गरेका छन्। “सबै तह र निकायको एकताबद्ध प्रयासबाट मात्र यो विपद् पार गर्न सकिन्छ भन्नेमा पूर्ण विश्वस्त छु,” मन्त्री यादवले बताए।
स्थानीय बासिन्दाहरूले भने दैनिक उपभोगका लागि पानी जुटाउनै कठिन भएको भन्दै तत्काल राहत र दीगो समाधानको माग गरिरहेका छन्।
अभितक मिडिया वीरगंज लगायत तराई–मधेस क्षेत्रका विभिन्न भागमा पानीको समस्या झेलिरहेका स्थानीय नागरिकहरूको पीडा र अवस्था लगातार उजागर गर्दै आइरहेको छ। समस्या समाधानको माग गर्दै नागरिक आवाजलाई निरन्तर सशक्त बनाइरहेको छ।

























