वीरगंज, २६ असार — गण्डकी प्रदेश सरकारअन्तर्गत भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, पोखरा, कास्कीका लेखा अधिकृत झलक शर्मा पौडेलले गैरकानूनी रूपमा आर्जन गरेको सम्पत्ति प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधवार विशेष अदालत, काठमाडौंमा भ्रष्टाचारको आरोपपत्र दायर गरेको छ।
आयोगका अनुसार पौडेलले आफ्नो पदीय हैसियतको दुरुपयोग गर्दै रु ६ करोड २६ लाख ९३ हजार १ सय २९ रुपैयाँ ८२ पैसा बराबरको स्रोत नखुलेको सम्पत्ति आर्जन गरेका छन्।
आयोगका अनुसार पौडेलले २०५४ साल माघ ८ गतेदेखि २०८० साल मंसिर १० गतेसम्मको सेवाकाल अवधिमा तलब, भत्ता, कृषि आय, जग्गा बिक्री, ऋण फिर्ता, शेयर बिक्री लगायत विभिन्न स्रोतबाट जम्मा रु ३ करोड ३९ लाख ८७ हजार ४ सय ९० रुपैयाँ ६५ पैसा मात्र वैधानिक रूपमा आर्जन गरेको देखिएको छ।
तर सोही अवधिमा उनले घरजग्गा खरिद, निर्माण, बैंक खातामा मौज्दात, ऋण सापटी, शेयर खरिद, सवारी साधन खरिद, सुनचाँदी खरिदलगायत विभिन्न शीर्षकमा रु ९ करोड ६६ लाख ८० हजार ६ सय २० रुपैयाँ ४७ पैसा खर्च गरेको पाइएको छ।
यसरी कुल खर्च तथा लगानी र वैधानिक आम्दानीबीच ६ करोड २६ लाख ९३ हजार १ सय २९ रुपैयाँ ८२ पैसाको अन्तर रहेकोले उक्त सम्पत्तिको वैध स्रोत पुष्टि हुन नसकेको आयोगले जनाएको छ।
अख्तियारका अनुसार पौडेलले आर्जन गरेको सम्पत्तिको एक हिस्सा पत्नी हुमाकुमारी उपाध्यायको नाममा समेत राखेका छन्। त्यसैले उक्त सम्पत्तिको जफत प्रक्रिया अगाडि बढाउन र कानूनी जिम्मेवारी कायम गर्न पत्नी उपाध्यायलाई समेत प्रतिवादी बनाइएको छ।
आयोगले भ्रष्टाचार निवारण ऐन, २०१७ र २०५९ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ का प्रावधानअनुसार झलक शर्मा पौडेललाई कैद सजाय, बिगो बराबरको जरिवाना र गैरकानूनी सम्पत्ति जफत गर्न मागदावी गर्दै विशेष अदालतमा आरोपपत्र पेश गरेको हो।
साथै, उनले बार्षिक रूपमा पेश गर्नुपर्ने सम्पत्ति विवरणमा झुट्टा विवरण पेश गरेको र वास्तविक सम्पत्ति लुकाएको पुष्टि भएको आयोगले जनाएको छ।
अख्तियारले पौडेलले सार्वजनिक पदको दुरुपयोग गर्दै अमिल्दो र अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको प्रमाणित भएको बताएको छ।

























