वीरगंज, २६ असार — वीरगंजस्थित नेसनल एकेडेमी क्याम्पसले आफ्नो २५ औँ वार्षिकोत्सवको अवसरमा वीरगंज–२४ बहुअरीस्थित शारदा विद्यालयमा बिहीवार एक विशेष कार्यक्रम आयोजना गरी ६० जना छात्राहरुलाई नयाँ कपडा वितरण गरेको छ।
कार्क्रममा वरिष्ठ समाजसेवी तथा अधिवक्ता प्रकाशकुमार उपाध्यायले बालबालिकाको शिक्षामा लगानी गर्दै उनीहरूलाई आत्मनिर्भर र सक्षम बनाउनु आवश्यक रहेको बताए। उनले भने, “आधा आकाश ओगटेका छोरीबेटीलाई शिक्षाको उज्यालो दिन सक्यौं भने मात्र समाज, देश र परिवार समृद्ध बन्न सक्छ।”
यसैगरी, नेसनल एकेडेमीका प्रमुख केदारप्रसाद साहले विद्यालयको प्रधानाध्यापक अनिल बरनवाल आफ्नो पुराना जेहेन्दार विद्यार्थी रहेको उल्लेख गर्दै अहिले उनलाई विद्यालयको नेतृत्वमा देख्दा अत्यन्त खुशी लागेको बताए। उनले गुरुपूर्णिमाको अवसरमा विद्यार्थीहरुलाई बधाई दिँदै शिक्षा नै विकासको मूल आधार भएको बताउँदै निरन्तर साथ रहने प्रतिबद्धता व्यक्त गरे।
समाजसेवी उपाध्यायले क्याम्पस प्रमुख साह र विद्यालयका प्रधानाध्यापक अनिल बरनवाललाई खादा ओढाई सम्मान गरे भने बरनवालले पनि साहलाई सम्मान स्वरूप खादा ओढाए।
विद्यार्थीहरुले गुरुपूर्णिमाको अवसरमा केक काट्ने कार्यक्रम समेत राखेका थिए, जसमा प्रमुख अतिथि केदार प्रसाद साहलाई विशेष सम्मान दिइएको थियो।
कार्यक्रमको सहजीकरण गर्दै प्रधानाध्यापक बरनवालले विद्यालयमा वीरगंज महानगरका ग्रामिण भेगका विद्यार्थी अध्ययनरत रहेको र शिक्षण-प्रशिक्षणमा निरन्तर सुधार गर्दै गुणस्तरीय शिक्षाको आधारमा अगाडि बढिरहेको बताए। उनले नेसनल एकेडेमी क्याम्पस परिवारलाई २५ औं वार्षिकोत्सवको अवसरमा बधाई र छात्राहरुको हौसला अभिवृद्धिका लागि सहयोग गरेकोमा आभार व्यक्त गरे।
कार्यक्रममा क्याम्पसका निर्देशक राजकुमार सहनी, वीरगंज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह, सञ्चारकर्मी अभिलाष गुप्ता तथा विद्यालयका शिक्षक यज्ञराज सापकोटा, लालबाबु यादव, सन्दीप यादव, अनिता कुशवाहा, गीता कुमारी, मोजाही प्रजापती, पम्मि देवीलगायत सहभागी थिए।
नेसनल एकेडेमी क्याम्पसका विद्यार्थीहरु सुमित गुप्ता, कृति प्याकुरेल, आकाश साह, निशा कुमारी र विद्यालयका विभिन्न तहका छात्रछात्राहरुले समेत कार्यक्रममा उत्साहजनक सहभागिता जनाए।

























