वीरगंज, २६ असार — सशस्त्र सीमा बल (एसएसबी) को ४७ औं बटालियन, रक्सौल पन्टोकाले सामाजिक जिम्मेवारी निर्वाह गर्दै युवाहरूको सशक्तिकरणको लागि ३० दिने नि:शुल्क कम्प्युटर कोर्सको उद्घाटन गरेको छ।
सांसद डा सञ्जय जयसवालले कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थिति जनाउँदै सीमा क्षेत्रका युवाहरूलाई प्राविधिक शिक्षा प्रदान गर्नको लागि महत्त्वपूर्ण भूमिका खेलिरहेकोले एसएसबीको प्रशंसा गरे।
सांसद जयसवालले भने, “आधुनिक युगमा युवाहरुले भविष्यमा जागिर पाउन वा कुनै पनि प्रतिस्पर्धामा सामेल हुनको लागि कम्प्युटर शिक्षा अत्यन्त महत्त्वपूर्ण छ। यसरी एसएसबीले युवाहरूलाई यो अवसर प्रदान गर्दै भविष्यका लागि तयार पारिरहेको छ।”
कार्यक्रमको उद्घाटनमा एसएसबीका डीआईजी एस सुब्रमण्यम र कार्यवाहक कमान्डेन्ट सञ्जय रावतले उपस्थित सांसद जयसवाल र विधायक प्रमोदकुमार सिन्हालाई गुलदस्ता र स्मृति चिन्ह प्रदान गरेर स्वागत गरेका थिए।
डीआईजी सुब्रमण्यमले भने, “यो कार्यक्रम सीमावर्ती युवाहरूलाई आत्मनिर्भर बनाउनको लागि सञ्चालन गरिएको हो। कम्प्युटर शिक्षा प्राप्त गर्दा उनीहरूको आत्मविश्वास, रोजगार क्षमता र सामाजिक सशक्तिकरणलाई बलियो बनाउनेछ।”
यो कोर्स ३० दिन अवधिको रहेको छ र यसमा २० जना विद्यार्थीहरुलाई निश्शुल्क कम्प्युटर शिक्षा दिइँदैछ। यस अवसरमा डेपुटी कमान्डेन्ट नवीन कुमार, बिहार भाजपा मुख्यालयका सह-प्रभारी इन्जिनियर जितेन्द्र कुमार, जिल्ला महासचिव अजय पटेल, भाजपा प्रदेश कार्यसमिति सदस्य गुड्डू सिंह, सांसद प्रतिनिधि राजकिशोर राय, भाजपा जिल्ला उपाध्यक्ष मनीष दुबे, मण्डल अध्यक्ष रिंकु पाण्डेलगायतका नेताहरूको उपस्थिति रहेको थियो।

























