वीरगंज, २७ असार — जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज देशभर मनसुनी वायुको प्रभाव जारी रहेको जनाएको छ। मनसुन सक्रिय भएकाले आज दिउँसो र राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ।
महाशाखाका अनुसार बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागका केही स्थानहरूमा तथा अन्य थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ। साथै, कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने चेतावनी पनि दिइएको छ। उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानहरूमा वर्षासँगै हिमपातको सम्भावना पनि रहेको मौसमविद्हरूले बताएका छन्।
यसैगरी, शुक्रवार राति पनि मनसुनी प्रभाव कायमै रहने अनुमान गरिएको छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र अन्य प्रदेशका एक-दुई स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्का देखि मध्यम वर्षा हुने अनुमान गरिएको छ। मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा भारी वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाले वर्षासँगै पहिरो, बाढी तथा खोला–नालामा पानीको सतह बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सबैलाई अनुरोध गरेको छ।
हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास र पश्चिममा सरदर स्थानभन्दा केही उत्तरतिर रहेको जानकारी दिइएको छ।

























