वीरगंज, २८ असार — उपकार सेवा नेपालले वीरगंज महानगरपालिका–२ छपकैयाका शेख आलमलाई व्हिलचेयर सहयोग गरेको छ। ७२ वर्षीय आलम विगत केही वर्षदेखि पूर्ण रुपमा अपाङ्ग जीवन बाँचीरहेका छन्। बिगतमा बन्दुकको गोली लागेका कारण उनी शारीरिक रुपमा कमजोर बनेका थिए। आर्थिक अवस्था समेत दयनीय भएपछि उनको दैनिकी अत्यन्त कष्टकर बनिरहेको थियो।
उक्त अवस्थामा उनी घरभित्र हिँडडुल गर्न पनि असमर्थ बनेका कारण उपकार सेवा नेपालले व्हिलचेयर सहयोग गरेको हो। संस्थाकी अध्यक्ष विद्याकुमारी सरावगीले “दीन दुःखी र असहायको सेवा नै सर्वोत्तम धर्म हो” भन्दै सहयोगको भावनाले यो कार्य सम्पन्न गरिएको बताइन्।
व्हिलचेयर हस्तान्तरण कार्यक्रम आलमकै घरमा आयोजना गरिएको थियो। कार्यक्रममा उपकार सेवा नेपालका सुमन बगेडिया, सामाजिक अभियन्ता प्रकाश थारू, कपडा बैंकका अध्यक्ष लालबाबु सिंह लगायत स्थानीय भद्रभलादमीहरूको उपस्थिति थियो।
स्थानीय समुदायले उपकार सेवा नेपालको यस कार्यको प्रशंसा गर्दै यसले मानवियताको उदाहरण प्रस्तुत गरेको प्रतिक्रिया दिएका छन्।

























