वीरगंज, २८ असार — सामाजिक युवा एकता क्लब वीरगंजको आयोजनामा शनिवार वीरगंज–१२, ब्रह्मचोकमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा ३ महिला सहित ५१ जनाले अमूल्य रगतदान गरेका छन्।

कार्यक्रम क्लबका अध्यक्ष बिक्की महतो धानुकको अध्यक्षता तथा नेपाल रेडक्रस सोसाइटी मधेश प्रदेशका सभापति फुलमहम्मद मियाँको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। विशेष अतिथिका रूपमा समाजसेवी प्रकाश उपाध्याय, रेडक्रस पर्साका सभापति बृजकिशोर पटेल, वीरगंज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह, राजेन्द्र भट्टराई, विरशमशेर कुर्मीलगायतको उपस्थिति रहेको थियो।

विज्ञापन

क्लबका पूर्व अध्यक्ष धानुकले हालको गर्मी र रक्त अभावलाई मध्यनजर गर्दै छोटो सूचनामै कार्यक्रम आयोजना गरिएको जानकारी गराउँदै भने, “हामी प्रत्येक वर्ष दुईपटक रक्तदान कार्यक्रम आयोजना गर्छौं। रक्तदान महादान हो, जीवनदान हो।”

कार्यक्रमको शुभारम्भ क्लब अध्यक्ष बिक्की महतोले रक्तदान गरेर गरेका थिए। उनलाई प्रमुख अतिथि मियाँले ब्लड कलेक्शन ब्याग हस्तान्तरण गरेका थिए।

प्रमुख अतिथि मियाले गर्मीका कारण पछिल्लो दुई महिनादेखि वीरगन्जमा रक्तदानकर्ताको कमी भएको र यसले उपचारमा समस्या उत्पन्न गरिरहेको उल्लेख गर्दै भने, “हामीले पटक–पटक सार्वजनिक अपिलमार्फत रक्तदानको आग्रह गरिरहेका छौं। मनकारी व्यक्ति र संघ–संस्थाले सहयोग गर्दै आइरहनुभएको छ, जसप्रति हामी आभारी छौं।”

रक्तदान गर्नेमा चन्दादेवी, अनिता देवी कानु, प्रमिला महतो, डा मृगेन्द्र कुमार सिंह, विशालकुमार महतो, जयकिशन साह, सुजन ढुंगेल, असर्फीप्रसाद चौरसिया, नवीन साहलगायत रहेका थिए।

रक्त सङ्कलनमा नेपाल रक्त सञ्चार केन्द्र वीरगंजका प्राविधिक धिरेन्द्र झाको नेतृत्वमा स्वयंसेवकहरूको टोली सक्रिय थियो। कार्यक्रममा क्लबका उपाध्यक्ष सिदार्थ मण्डल, सचिव अमन मण्डल, सदस्यहरू संजय महतो, चन्दन मण्डल, सचिन महतो, अनिष मण्डल लगायत स्थानिय युवाको उपस्थिति रहेको थियो।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here