वीरगंज, २८ असार – नेपालमा लेडिज सर्कलको स्थापना दिवसको अवसरमा वीरगंज लेडिज सर्कल ३ ले नारायणी अस्पतालमा फलफुल वितरण कार्यक्रम सम्पन्न गरेको छ।
संस्थाका अध्यक्ष नन्दनी अग्रवालको अध्यक्षतामा आयोजित कार्यक्रममा अस्पतालमा रहेका बिरामीका कुरुवाहरूलाई ५५ किलो आँप र ३ सय थान केरा वितरण गरिएको जनाइएको छ। कार्यक्रममा उपाध्यक्ष निधि जाटिया, सचिव श्रेया रुङटा, कोषाध्यक्ष नेहा अग्रवाल, पूर्वअध्यक्ष खुशबु सिंघानिया लगायत सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो।
अध्यक्ष अग्रवालले कार्यक्रमका क्रममा “सेवा नै धर्म हो” भन्ने मुलमन्त्रलाई आत्मसात गर्दै लेडिज सर्कलले समाजका दुःखी, असहाय तथा सहयोग चाहिने व्यक्तिहरूलाई निरन्तर सेवा प्रदान गर्दै आएको जानकारी दिइन्। उनले महिलाहरूको सशक्तिकरण, आत्मनिर्भरता र उत्प्रेरणाको लागि विभिन्न कार्यक्रम गर्दै आएको र आगामी दिनहरूमा पनि सामाजिक सेवामा केन्द्रित विभिन्न कार्यक्रमहरू आयोजना गर्ने योजना रहेको बताइन्।
लेडिज सर्कलको स्थापना दिवस देशभर विभिन्न सेवा मूलक कार्यक्रममार्फत भव्य रूपमा मनाउने परम्पराअनुसार वीरगंजमा पनि सानो सहयोगका साथ फलफुल वितरण गरिएको आयोजकले जनाएका छन्।

























