• रुपेश सिंह
मधेश प्रदेश, विशेषगरी जनकपुरधाम र आसपासका क्षेत्रहरू गम्भीर जल सङ्कटको चपेटामा परेका छन्। पर्याप्त वर्षा नभएकै कारण यहाँको जनजीवन मात्र होइन, कृषि, पशुपालन, पर्यटन, व्यवसाय र दैनिक गतिविधिहरूमा गहिरो असर परेको छ। जनकपुर, जसलाई ऐतिहासिक, धार्मिक र सांस्कृतिक रूपमा महत्वपूर्ण शहर मानिन्छ, अहिले पानीको लागि हाहाकार मच्चिएको अवस्था छ।
मधेश प्रदेश देशकै उर्वर भूमिको रुपमा चिनिन्छ। तर अहिले अधिकांश खेतहरू सुक्खा छन्। धान रोप्ने समयमा किसानहरूको खेतमा पानी छैन। परम्परागत सिंचाइका स्रोतहरू जस्तै इनार, पोखरी र नहर सुकिसकेका छन्। डिप बोरिङ गर्ने आर्थिक हैसियत नभएका साना किसानहरू खेती गर्न सक्ने अवस्थामा छैनन्। यसले उनीहरूको जीविकोपार्जनमा प्रत्यक्ष असर पारेको छ। उता, वर्षा नभएकै कारण तापक्रम पनि दिनप्रतिदिन बढ्दो छ। असह्य गर्मीका कारण जनजीवन अस्वाभाविक रूपमा प्रभावित भएको छ। वृद्ध, बालबालिका, बिरामीहरू विशेष जोखिममा छन् भने कामकाजी वर्ग पनि बिहान बेलुका केही घण्टा बाहेक घरबाहिर काम गर्न सक्ने अवस्थामा छैनन्।
खडेरीले चौपाया र पशुपन्छीको अवस्था पनि चिन्ताजनक बनेको छ। चरन क्षेत्रहरू सुक्खा छन्, पानीको स्रोतहरूमाथि निर्भर रहेका पशुहरू तिर्खाले छटपटाउन थालेका छन्। जनकपुर आसपासका इनार, तालतलैया, साना पोखरी र चापाकलहरू सुकिसकेका छन्। ग्रामीण क्षेत्रमा चापाकलले पानी नफालेपछि मानिसहरू चिन्तामा छन्। दैनिक उपभोगका लागि पानी जोहो गर्न स्थानीयवासीहरूले घण्टौँ कुर्नुपरेको छ। कतिपय स्थानमा एक बाल्टिन पानीका लागि झगडा समेत हुने अवस्था देखिन्छ।
शहरको अवस्था अझ झन् जटिल छ। जनकपुरधामजस्तो ऐतिहासिक शहरमा कुनै प्रभावकारी टाउन प्लानिङ नभएकै कारण जल व्यवस्थापन प्रणाली पूर्णरूपमा असफल देखिन्छ। होटल, गेष्ट हाउस, रेष्टुरेन्टहरूमा पानी भण्डारणको पूर्वतयारी छैन। पानीकै कारण धेरै होटल व्यवसायीहरू सेवाग्राही गुमाइरहेका छन्। व्यावसायिक क्षेत्रमा प्रत्यक्ष असर पर्नुका साथै स्थानीय पर्यटनसमेत घट्ने सम्भावना प्रकट भएको छ। जनकपुरलाई पोखरीहरूको शहर भनिन्छ, तर ती पोखरीहरू पनि अहिले पानीको अभावमा मरुभूमीसरह बन्न थालेका छन्। ऐतिहासिक गङ्गा सागर, धनुषसागर लगायतका पोखरीहरूमा पानीको मात्रा निकै घटेको छ, फोहोर थुप्रिएर दुर्गन्धित बनेका छन्। यसले शहरको पर्यावरण मात्र होइन, धार्मिक आस्थामा समेत आघात पुर्याएको छ।
पानीको सङ्कट यतिमा मात्रै सीमित छैन। सरसफाइ, स्वास्थ्य र स्वच्छतासम्बन्धी समस्याहरू पनि दिनप्रतिदिन बढ्दो छन्। खानेपानी नहुँदा संक्रमण फैलने जोखिम उच्च बनेको छ। विद्यालय, अस्पताल जस्ता सार्वजनिक संस्थानमा पनि पानी अभावका कारण सेवा प्रवाह प्रभावित भएको छ।
यो सबै अवस्था हेर्दा सरकारको चासो अत्यन्त न्यून देखिन्छ। राज्य र स्थानीय तह दुवैले यस सङ्कटलाई दिर्घकालीन दृष्टिकोणबाट समाधान गर्नुपर्ने आवश्यकता छ। तत्काल पानी ट्यांकरको व्यवस्थादेखि डिप बोरिङ, वर्षा पानी सङ्कलन प्रणालीको विकास, पोखरी तथा इनारहरूको पुनर्जीवन, तथा ग्रामीण क्षेत्रमा साना जल परियोजनाहरू सञ्चालन गर्नुपर्ने देखिन्छ। यदि अहिले नै प्रभावकारी उपायहरू अवलम्बन गरिएन भने यो जल सङ्कट ठूलो मानवीय सङ्कटमा परिणत हुन सक्छ। जनकपुरधाम र सम्पूर्ण मधेश जल र खेतीले चिनिने भूगोल हो, तर त्यसै भूगोलमा आज जलविना जीवन सङ्कटमा छ। यो अवस्थाले सरकार, समाज र प्रत्येक नागरिकलाई चेतना जगाउनु आवश्यक भएको छ।
(जनकपुर निवासी लेखक प्राध्यापक तथा सञ्चार उद्यमी हुन्। )