तस्विर : सौन्जय

वीरगंज, २९ असार – सप्तरी जिल्ला बोदे बरसाई नगरपालिकामा संघीय हिन्दू गणतन्त्र स्थापना गर्नका लागि राष्ट्रिय एकता अभियानद्वारा विशेष छलफल कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रम समाजसेवी मोहित यादवको अध्यक्षतामा सम्पन्न भएको थियो।

छलफल कार्यक्रममा अभियानका केन्द्रीय अध्यक्ष विनय यादव प्रमुख अतिथिको रूपमा उपस्थित थिए। उनले संघीय हिन्दू गणतन्त्रको आवश्यकता र यसका महत्वबारे चर्चा गर्दै सामाजिक एकता र धर्मनिरपेक्षताबाट आएका चुनौती र विकृतिबारे आफ्ना विचार व्यक्त गरे। उनले जिहादी आतंकवादीहरू नेपाललाई ट्रान्जिट प्वाइन्टको रूपमा प्रयोग गर्दै आइरहेका बताए। नेपाल–भारत खुला सीमाका कारण मधेशको भूमिलाई सेल्टर बनाई आतंकी घटनाको योजना बनाउने गरेको उल्लेख गरे। यस्ता घटना रोक्न देशमा संघीय हिन्दू गणतन्त्र कायम गर्नुपर्ने उनले बताए।

विज्ञापन

हाल देशमा आर्थिक संकट रहेको र विश्वभरिमा बसोबास गर्ने दुई सय करोड हिन्दूहरूको आस्थाको देशको रूपमा संविधानमा संघीय हिन्दू गणतन्त्र घोषणा गरी धार्मिक पर्यटन भित्र्याए मात्र देश आर्थिक संकटबाट बच्न सक्ने धारणा व्यक्त गरे। धर्मनिरपेक्षताको आडमा जिहादीहरूले सोझा–साझा नेपाली मुस्लिमहरूलाई प्रशिक्षण दिई साम्प्रदायिक हिंसा गराइरहेकोले यस्ता जिहादीहरूको पहिचान राज्यले गर्नुपर्ने मागसमेत उनले राखे।

यस कार्यक्रममा अभियानका केन्द्रीय उपाध्यक्ष एवं संविधानसभा सदस्य भूपेन्द्र चौधरी, केन्द्रीय सदस्य एवं दलित विभाग प्रमुख जीतेंद्र दास लगायतले पनि आ–आफ्नो मन्तव्य राखेका थिए। वक्ताहरूले धार्मिक, सांस्कृतिक र सामाजिक समरसता कायम राख्दै राष्ट्रको विकासमा योगदान दिन राष्ट्रिय एकता अभियानको भूमिका महत्वपूर्ण रहेको बताए।

कार्यक्रमले उपस्थित स्थानीयवासीलाई संघीय गणतन्त्रको महत्वबारे जानकारी दिनुका साथै अभियानलाई थप सशक्त बनाउने रणनीतिहरूमा छलफल गरेको थियो।

कार्यक्रमको समापनमा अध्यक्ष मोहित यादवले उपस्थित सबैलाई धन्यवाद व्यक्त गर्दै अभियानका लक्ष्यहरू पूरा गर्न निरन्तर प्रयास गरिने प्रतिबद्धता व्यक्त गरे।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here