वीरगंज, ३० असार — आज देशभर मनसुनी वायुको प्रभाव कायम रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। विभागका अनुसार देशको पूर्वी भागमा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा तथा पश्चिमी भागमा सरदर स्थानभन्दा केही उत्तरतर्फ सक्रिय रहेको छ।
आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागहरूमा केही स्थानहरूमा तथा अन्य प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक-दुई स्थानमा भने भारी वर्षा हुन सक्ने सम्भावना महाशाखाले औंल्याएको छ।
यसैगरी, देशका उच्च पहाडी र हिमाली भू-भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा वा हिमपातको सम्भावना पनि रहेको जानकारी दिइएको छ।
यसैगरी, आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने अनुमान गरिएको छ। रातिको समयमा कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा अन्य प्रदेशका थोरै स्थानहरूमा मेघगर्जनसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ। कोशी र लुम्बिनी प्रदेशका एक-दुई स्थानहरूमा भने भारी वर्षाको सम्भावना अझै कायम रहनेछ। उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात हुने पूर्वानुमान पनि गरिएको छ।
महाशाखाले नागरिकहरुलाई सावधानी अपनाउन आग्रह गरेको छ, विशेषगरी पहिरो, बाढी तथा नदी तटीय क्षेत्रका बासिन्दाहरूलाई सतर्क रहन अनुरोध गरिएको छ।

























