वीरगंज, ३० असार – धनुषा जिल्लाको सबैला नगरपालिकामा सार्वजनिक सम्पत्ति हिनामिना गरेको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग, काठमाडौँले तत्कालीन इन्जिनियर रञ्जित कुमार यादवसहित ७ जनाविरुद्ध सोमवार विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार सम्बन्धी मुद्दा दायर गरेको छ।
आयोगका अनुसार आर्थिक वर्ष २०७७/७८ मा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत बाख्रापालन तथा धान बीउ वितरण कार्यक्रममा भएको अनियमितताबारे उजुरी आएपछि अनुसन्धान थालिएको थियो। अनुसन्धानको क्रममा सबैला नगरपालिकाले रु. १५ लाख विनियोजन गरेर सूचना प्रकाशन नगरी मिलेमतोमा अर्चना सहकारी संस्था लिमिटेडसँग सम्झौता गरेको खुलासा भएको छ।
सहकारीमार्फत कार्यक्रम सञ्चालन भए पनि बोका, पाठी, च्यापक र डाले घाँस खरिद गरिएको भनेर झुटा विल तयार पारिएको र वितरणसम्बन्धी स्पष्ट विवरण नभएको अख्तियारले जनाएको छ। अर्चना सहकारीले राधा कृषि फार्मबाट उक्त सामग्री खरिद गरेको दाबी गरे पनि फार्मका संचालकले उक्त मितिमा सामान नबेचेको स्पष्ट पारीदिएका छन्। साथै, आन्तरिक राजस्व कार्यालय जनकपुरको पत्र अनुसार सो वर्षमा राधा कृषि फार्मले कुनै कारोबार नगरेको पुष्टि भएको हो।
यसरी मिलेमतोमा झुटा कागजात तयार गरी रु. १४,७७,५०० बराबरको सार्वजनिक रकम हिनामिना तथा हानिनोक्सानी गरिएको हुँदा आयोगले दोषी देखिएका व्यक्तिहरूमाथि कानुनी कारबाहीका लागि आरोपपत्र दायर गरेको हो।
आरोपितहरूको सूचीमा तत्कालीन इन्जिनियर रञ्जितकुमार यादव, वडा नं ८ का तत्कालीन वडाध्यक्ष, अर्चना सहकारी संस्था लिमिटेडका पदाधिकारी तथा अन्य सरोकारवाला व्यक्तिहरू रहेका छन्।
आयोगले सम्बन्धित सबै व्यक्तिहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कानुनी सजायको मागसहित मुद्दा दायर गरेको जनाएको छ।

























