काठमाडौँ, ३१ असार – सङ्घीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज मङ्गलबार दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्दैछ। बैठकमा विभिन्न विधेयकमाथि छलफल हुने कार्यसूची तय गरिएको छ।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘वैकल्पिक वित्त परिचालन विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्नुहुनेछ। त्यस्तै, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले ‘पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ।
आजको बैठकमा लेखा समितिका सभापति ऋषिकेश पोखरेलले ‘सार्वजनिक लेखा समितिको २३औँ वार्षिक प्रतिवेदन, २०८२’ पेश गर्नुहुनेछ भने सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्र पढेर सुनाउनुहुनेछ।
यही दिन राष्ट्रिय सभाको बैठक पनि दिउँसो १:१५ बजे बस्ने छ। सो बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले प्रतिनिधिसभाबाट सन्देसहित आएको ‘सङ्घीय निजामती सेवा विधेयक, २०८०’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्नुहुनेछ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले प्रतिनिधिसभाबाट सन्देसहित आएको ‘जलस्रोत विधेयक, २०८१’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउने प्रस्ताव पनि पेश हुने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ। (रासस)