वीरगंज, ३१ असार — हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास र पूर्वतर्फ सरदर स्थानको केही उत्तर भागमा रहेको छ।
आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै देशका पहाडी भू-भागका केही स्थानमा तथा अन्य प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का देखि मध्यम वर्षा वा हिमपातको सम्भावना पनि रहेको छ।
यसैगरी, आज राति पनि देशभर सामान्यतया बदली नै रहनेछ। कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा र अन्य स्थानका थोरै भागमा मेघगर्जन/चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ। साथै, कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षा पनि हुनसक्ने महाशाखाको भनाइ छ।
कोशी प्रदेशका तराई क्षेत्र र मधेश प्रदेशका केही स्थानहरूमा हावाहुरी चल्ने सम्भावना समेत रहेको जानकारी दिइएको छ।

























