
वीरगंज, ३२ असार – सिरहा जिल्लाको कल्याणपुर नगरपालिकाका नगर प्रमुख रामपुकार साहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले एक लाख रुपैयाँ घुससहित रंगेहात पक्राउ गरेको छ।
सिरहाको कल्याणपुर नपा वडा नं ६ मा निर्माण सम्पन्न भएको नाला योजनाको भुक्तानी प्रक्रिया अघि बढाउने क्रममा सेवाग्राहीसँग बिचौलिया मार्फत घुस माग गरिएको उजुरीका आधारमा अख्तियारको बर्दिवास कार्यालयबाट खटिएको टोलीले नगर प्रमुख साहलाई नियन्त्रणमा लिएको हो।
नगर प्रमुख साहले माग गरेको भनिएको घुस रकम सेवाग्राहीबाट बुझिसकेको अवस्थामा, अख्तियारको टोलीले उनलाई बुधवार कल्याणपुर नगरपालिका क्षेत्रमै पक्राउ गरेको हो। हाल उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।
घटनाबारे जानकारी दिँदै अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले कानूनी प्रक्रिया अनुसार अनुसन्धान अगाडि बढाइने बताएका छन्।