वीरगंज, ०५ साउन – साउन महिनाको दोस्रो सोमवारको अवसरमा आज वीरगंजको चिनीमिलस्थित पशुपतिनाथ मन्दिर परिसर शिवभक्तहरुको अपार भीडले भरिएको छ। बिहानैदेखि शुद्ध मन र भक्तिभावका साथ जल अर्पण गर्न भक्तजनहरुको लर्को लागेको देखिन्छ। विशेषगरी सोमवारको दिन भगवान् शिवको आराधना गरिने भएकाले आजको दिन मन्दिर परिसरमा विशेष चहलपहल देखिएको छ।
पर्सा, बारा, रौतहट, मकवानपुर लगायत आसपासका जिल्लाबाट आएका भक्तजनहरुसँगै सीमावर्ती भारतको रक्सौल आसपासका पर्यटकहरू पनि दर्शनका लागि यहाँ आइपुगेका छन्। भक्ति भजन र शिवनामको उच्चारणले मन्दिर क्षेत्र एक प्रकारको आध्यात्मिक वातावरणले भरिएको देखिन्छ। आज बिहान श्रद्धालुहरू लामो लाइनमा बसेर पनि हर्षपूर्वक शिवलिंगमा जल चढाउँदै थिए।
स्थानीय कन्हैया गुप्ताले जल अर्पण गरिसकेपछि भने, “अब केहीबेर विश्राम गरेर घर जानेछु, तर खोइ यहाँबाट जानै मन लाग्दैन, असिम शान्ति अनुभूति हुँदोरहेछ।” उनको अनुहारमा भक्तिभाव र शान्तिको मिलन स्पष्ट देखिन्थ्यो। उता, सीमावर्ती भारतीय शहर रक्सौलबाट आएका महेश प्रसाद र उनकी श्रीमती पहिलो पटक यहाँ दर्शन गर्न आएको बताउँदै भने, “पहिलो पटक हामी दम्पति जल चढाउन आएका छौँ, बहुत सुन्दर र रमणीय स्थल रहेछ।”
साउन महिनालाई हिन्दू धर्मावलम्बीहरू शिवको विशेष महिना मान्छन्। यस महिनाभर शिवको आराधना, व्रत, उपवास, रुद्री पाठ, महामृत्युंजय जापजस्ता क्रियाकलापमा लाग्ने भक्तजनहरूको ताँती मन्दिर–मन्दिरमा देखिन्छ। साउनको प्रत्येक सोमवार अझ विशेष मानिन्छ, जसलाई ‘सावनी सोमवारी’ भनिन्छ। यस दिन भगवान् शिवलाई जल, दूध, बेलपत्र आदि चढाएर व्रत बस्ने परम्परा छ।
पशुपतिनाथ मन्दिर शान्त र हरियाली वातावरणमा अवस्थित छ। यहाँ आउने धेरै भक्तजनहरूले भन्छन् – “शरीरभन्दा आत्मा शान्त हुन्छ।” वर्षदिनको थकाइ साउन महिनाको आराधनाले मेटिएको महसुस हुने उनीहरूको भनाइ छ। कतिपय त शिवमन्दिर वरिपरि नै भजन कीर्तन गाएर दिन बिताउँछन्।
मन्दिर व्यवस्थापन समितिका अनुसार साउन महिना विशेष भएकाले सुरक्षादेखि व्यवस्था र सरसफाइमा विशेष ध्यान दिइएको छ। भक्तजनहरूको सहजताको लागि नगर प्रहरी समेत परिचालन गरिएको छ। साथै, चिनीमिल क्षेत्रका स्थानीयहरूले समेत दर्शनार्थीलाई सहायता गर्ने वातावरण बनाएका छन्।
साउन महिनाको शुद्धता, आस्था र आराधनाले मन्दिर परिसर मात्र होइन, सम्पूर्ण वीरगंज शहरमा नै भक्तिमय माहोल बनाएको छ। शिवभक्तहरूको अनुहारमा देखिएको श्रद्धा र आन्तरिक शान्तिको अनुभूति शब्दमा मात्र वर्णन गर्न सम्भव छैन। यस्ता धार्मिक स्थल र अवसरहरूले समाजमा एकता, आस्था र संस्कृतिको चेतना थप बलियो बनाउने कुरामा दुईमत छैन।
यसैगरी, वीरगंजस्थित अलखिया मन्दिर, पोखरियास्थित पोखरेश्वरनाथ महादेव मन्दिर, भाथाधामस्थित दुग्धेश्वरनाथ महादेव मन्दिर लगाएत हरेक शिव मन्दिरमा भक्तजनहरुको बाक्लो उपस्थिति देखिएको छ।






















