वीरगंज, ०५ साउन – जनकपुरधामस्थित एक होटेलमा छुरा प्रहार गरी हत्या गरेको आरोपमा एक युवतीलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार महोत्तरी गाउँपालिका–१, पर्सा टोल निवासी ३२ वर्षीय विमलेश यादवको हत्या अभियोगमा २१ वर्षीया जुली झालाई पक्राउ गरिएको हो । झा महोत्तरीको बनौटा घर भई हाल जनकपुरधाम उपमहानगरपालिका–४ मा डेरा गरी बस्दै आएकी थिइन् ।

साउन ३ गते राति लगभग १० बजे विमलेश यादव जनकपुरधाम उपमहानगरपालिका–२३ स्थित होटेल एसपी एण्ड गेस्ट हाउस को कोठा नं १०२ मा प्रवेश गरेका थिए । सीसीटीभी फुटेज र मोबाइल रेकर्डको आधारमा उनी बा४५प४९८६ नम्बरको मोटरसाइकलमा सवार भई अभियुक्तसँगै होटलमा प्रवेश गरेका थिए । होटलमा उनले “शनि यादव“ नाम लेखाई कोठा बुक गरेका थिए ।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार, सोही रात करिब ३ बजे यादव होटलको पहिलो तल्लाबाट रगताम्य अवस्थामा भुइँमा खसेको देखिन्छ । लगत्तै अभियुक्त जुली झा कुर्ता सुरुवालमा खाली खुट्टा भुइँतर्फ तल झरेर भाग्दै गरेको दृश्य सीसीटीभीमा कैद भएको छ ।

घटनापछि तत्कालै खटिएको जिरोमाइल प्रहरी टोलीले घाइते यादवलाई प्रादेशिक अस्पताल जनकपुरधाम पु-याएको थियो, जहाँ उपचारका क्रममा बिहान पौने आठ बजे उनको मृत्यु भएको जनाइएको छ ।

प्रहरी अनुसन्धानका क्रममा अभियुक्त जुली झालाई सोही दिन दिउँसो १२ बजे महोत्तरीको परौलतर्फ भाग्दै गरेको अवस्थामा नियन्त्रणमा लिइएको जनाइएको छ । घटनाको थप अनुसन्धान जारी रहेको धनुषा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here