जनकपुर, ०५ साउन – धनुषा जिल्लाको मिथिला नगरपालिकास्थित जमुनिबासमा एक महिलाको आत्महत्यासँग सम्बन्धित घटनामा प्रहरीले आत्महत्या दुरुत्साहनको अभियोगमा एकजनालाई पक्राउ गरेको छ।
मृतक ३४ वर्षीया बिमलाकुमारी ध्रोङचिङ मगरले जमुनिबासस्थित जनता राष्ट्रिय आधारभूत विद्यालयको बाल विकास कक्षाकोठाभित्र साउन १ गते बिहान करिब पौने ५ बजे सिलिङ फ्यानको रडमा सलको पासो लगाई झुन्डिएको अवस्थामा फेला परेकी धनुषा प्रहरीले जनाएको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानपछि घटनास्थलबाट मृतककी स्कुटी नं ज११प७४९२ फेला परेको थियो, जसको डिक्कीमा एक सुसाइड नोट समेत बरामद भएको थियो। प्रहरीको अनुसन्धान अनुसार मृतकले आर्थिक समस्याका कारण जनकपुरधाम उपमहानगरपालिका वडा नं ९ निवासी ५५ वर्षीय राजकिशोर यादवसँग रु ३ लाख २० हजार ऋण लिएकी थिइन्। ऋण चुक्ता गरे पनि प्रतिवादी यादवले एक ब्ल्याङ्क चेकमा रु ४५ लाख रुपैयाँ लेखी ती महिलालाई ब्ल्याकमेल गर्दै मानसिक दबाब, धम्की र अपमानजनक व्यवहार गरेका थिए।
यसै मानसिक यातनाको कारणले मृतक बिमला आत्महत्या गर्न बाध्य भएकी प्रहरीको अनुसन्धानबाट खुलेको छ।
घटनापछि अभियुक्त यादव फरार थिए। खोजी कार्य जारी राख्दै जिल्ला प्रहरी कार्यालय धनुषाले साउन २ गते यादवलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य जारी रहेको धनुषा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वरुणबहादुर सिंहले बताए।
अभियुक्तको घरबाट विभिन्न व्यक्तिहरूको नाममा लेखिएको सक्कल र प्रतिलिपि कपाली तमसुकका ९ थान कागजात, सक्कल जग्गा धनी प्रमाणपत्र २३ थान, विभिन्न व्यक्तिहरूको नाममा रहेका बैंक भौचर र चेकहरू बरामद भएको प्रहरीले जनाएको छ।

























