वीरगंज, ५ साउन — पर्सा जिल्लाको पोखरिया नगरपालिका वडा नं ६ र ७ को सिमानामा अवस्थित महोबनी पद्म माध्यमिक विद्यालयको नयाँ भवन निर्माणका लागि भारतीय दूतावास काठमाडौंको सहयोगमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत पोखरिया नगरपालिकाका नगरप्रमुख प्रदुमनप्रसाद चौहानसँग साउन ५ गते औपचारिक सम्झौता भएको हो।
रु ११ करोड ५८ लाखको लागतमा निर्माण कार्य अघि बढ्ने भएको नगर प्रमुख चौहानले बताए । परियोजनाअन्तर्गत तीनतले शैक्षिक भवन, प्रशासनिक ब्लक, गेट र गार्ड हाउस, छात्र–छात्राका लागि छुट्टाछुट्टै शौचालय, सीमाना पर्खाल, सरसफाइ, स्वच्छ खानेपानी तथा विद्युत् आपूर्तिको सुविधा, फर्निचर र प्रयोगशालाका उपकरणहरूको व्यवस्था गरिने बताइएको छ।
परियोजनाको कार्यान्वयन पोखरिया नगरपालिकाले गर्नेछ। भारतीय दूतावासले नेपालमा शिक्षा पूर्वाधार सुदृढ गर्ने क्रममा यो सहयोगलाई निरन्तर प्रयासको एक हिस्सा मानेको छ।
नगरप्रमुख चौहानले निर्माण सम्झौताले विद्यार्थीहरूका लागि नयाँ अवसर सिर्जना गर्ने विश्वास व्यक्त गर्दै भारतीय पक्षप्रति आभार प्रकट गरे। स्थानीय बासिन्दा र विद्यालय परिवारमा पनि यस कदमले उत्साह थपेको छ। विद्यालयको समग्र विकाससँगै महोबनी क्षेत्रको शैक्षिक स्तर उकासिने अपेक्षा गरिएको छ।
उक्त विद्यालयमा हाल नर्सरीदेखि कक्षा १० सम्म अध्ययन हुने व्यवस्था छ र करिब ६५० जना विद्यार्थीहरू अध्ययनरत छन्। नयाँ संरचना निर्माणसँगै विद्यालयको भौतिक पूर्वाधार बलियो हुनुका साथै सिकाइ वातावरणमा पनि गुणात्मक सुधार आउने अपेक्षा गरिएको छ।

























